
बलिउड निर्देशक अनुराग कश्यपले नेपालमा फिल्म छायांकन गर्ने इच्छा रहेको बताएका छन् । बिहीवारबाट अनलाइनको माध्यमबाट सुरु भएको नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सवको उद्घाटनपछिको पहिलो सेसनमा बोल्दै उनले स्थिति सामान्य भएपछि फिल्म खिच्न नेपाल आउन सक्ने बताए । आफू नेपालका हिमश्रृङ्खलाबाट अत्यन्त प्रभावित रहेको पनि उनको भनाई छ ।
उनले भने, ‘म केही पटक नेपाल आएको छु । अब मलाई नेपालका हिमश्रृङ्खलामा फिल्म खिच्ने इच्छा छ । सगरमाथा जाने मन छ । मसँग हिमालमा खिच्नुपर्ने एउटा स्क्रिप्ट छ । स्थिति सामान्य भएपछि फिल्म खिच्न नेपाल आउन सक्छु ।’ उनले नेपालले नेपालकै कथामा फिल्म बनाउनु पर्नेमा पनि जोड दिए । नेपाली फिल्मलाई लगानी जुटाउन गाह्रो नभएको उनको भनाई छ ।
‘एउटा राम्रो फिल्मले फिल्म क्षेत्रलाई विश्वमा चिनाउँछ । नेपाललाई पनि एउटा यस्तै फिल्मको खाँचो छ । अहिले नेपाली फिल्मलाई लगानी जुटाउन पनि गाह्रो छैन । राम्रो स्क्रिप्टमा लगानी गर्न विश्वका मानिसहरु तयार हुन्छन्,’ उनले अगाडि भने, ‘तर नेपाली फिल्ममा मौखिक कथा पस्कन जोड दिनुपर्छ । स्थानीय कथामा फिल्म बनायो भने त्यो विश्वको लागि नयाँ हुन्छ र त्यो विश्वले हेर्छ ।’
अनुरागले दुईवटा नेपाली फिल्म हेरेका छन्, दीपक रौनियारको ‘सेतो सूर्य’ र मीन भामको ‘कालो पोथी’ । उनले दुवै फिल्ममा मौलिकपन र आफ्नोपन रहेको भन्दै प्रशंसा गरे । ‘कालो पोथी’ उनले डिभिडि किनेर हेरेका रहेछन् । उनले स्वतन्त्र फिल्मकर्मीको रुपमा दीपक र मीनको नाम पनि लिए । बलिउडमा फरक धारका फिल्म बनाउने निर्देशकको रुपमा अनुराग परिचित छन् ।
फिल्म ‘पाँच’ बाट उनले निर्देशकिय यात्रा आरम्भ गरेका हुन् । तर, उनी निर्देशित पहिलो फिल्मले हलको मुख देख्न पाएन । फिल्म ‘ग्याङ्स अफ वासेपुर’ ले भने उनलाई चर्चामा ल्याएको थियो । यसपछि उनले ‘मनमर्जियाँ’, ‘चोक्ड’, ‘मुक्काबाज’ जस्ता सफल फिल्म निर्देशन गरे । उनले ‘एके भर्सेस एके, आइ एम, ब्ल्याक फ्राइडे, अकिरा’ लगायतका फिल्म अभिनय पनि गरेका छन् ।

