.jpg)
कोरोनासँग लडिरहेका हास्य कलाकार मदनकृष्ण श्रेष्ठ फेरि अस्पताल भर्ना भएका छन् । ८ दिन ललितपुरको मेडिसिटी अस्पतालमा उपचारपछि केही दिन अगाडि डिस्चार्ज भएर घर फर्किएका उनलाई अक्सिजन लेवलमा कमी आएपछि बुधबार पुनः अस्पतालमा भर्ना गरिएको हो । अहिले श्रेष्ठको स्वास्थ्य अवस्था सामान्य रहेको कलाकार हरिवंश आचार्यले जानकारी दिए ।
डिस्चार्ज भएर घर फर्किएको भोलीपल्ट अक्सिजन लेवल ८४ मा झरेपछि अस्पतालमा भर्ना गरिएको मदनकृष्णकी छोरी सराना श्रेष्ठले बताइन् । श्रेष्ठको छातीमा सामान्य इन्फेक्सन देखिएकाले चिकित्सकहरुले केही दिन अस्पतालमै राखेर उपचार गर्ने निर्णय लिएको उनले बताएकी छन् । मदनकृष्णको हाल मेडिसिटी अस्पतालमा अक्सिजनको सामान्य सपोर्टमा उपचार भइरहेको छ ।
श्रेष्ठको कोरोना रिपोर्ट नेगेटिभ आएको छैन । उनका परिवारको पाँचै जनामा कोरोना संक्रमण देखिएको छ । ८ दिन अस्पतालमा उपचार गरेर डिस्चार्ज भएपछि उनले भिडियो सन्देशमार्फत् संसारलाई महासंकट परेको यो दुःखको घडीमा सबैले सबैलाई माया गर्न र राम्रो सोच्न सुझाएका थिए । कोरोना संक्रमणपछि जिन्दगीमा कहिल्यै नभोगेको गलाइ महशुस भएको उनको भनाई छ ।

