.jpg)
कोरियन लुक्स, भिन्न शैलीको ड्रेसअप र फरक हेयर स्टाइलका कारण अभिनेता सलिनमान बनियाँ प्रायः चर्चामा रहने गरेका छन् । दर्शकमाझ ‘स्टाइलिस अभिनेता’ को रुपमा चिनिएका उनले फिल्म ‘ए मेरो हजुर २’ बाट अभिनेताको रुपमा डेब्यू गरेका हुन् । उनलाई डेब्यू फिल्म नै फलिफाप सिद्ध भयो । अभिनयको आलोचना भए पनि फिल्म हिट हुँदा उनी ‘स्टार’ को रुपमा उदाए ।
तर, डेब्यू फिल्मको छायांकनको क्रममा भोगेका दुःख र कठिनाई सम्झिएर उनी अब फिल्म नगर्ने अडानमा बसेका थिए । ‘ए मेरो हजुर २’ रिलिजको २ वर्ष उनले अफर आएका अनगिन्ती फिल्म लत्याए । यसैक्रममा उनलाई फिल्म ‘यात्रा’ अफर भयो । कथावस्तु र आफ्नो भूमिका मनपरेपछि उनले फिल्म छाड्न सकेनन् । यो फिल्मका लागि उनले लामो समय एक्सनको तालिम समेत लिए ।
तर, ‘यात्रा’ ले उनको साख जोगाउन सकेन । फिल्म बक्सअफिसमा नराम्रो पिटियो । यद्यपि, सलिनमानको अभिनय र एक्सनको भने केही हदसम्म तारिफ भएको थियो । यो फिल्मपछि उनले नयाँ फिल्म साइन गरेका छैनन् । उनी अब आफूलाई चित्त बुझ्ने स्क्रिप्टबाट अफर आए मात्र फिल्ममा काम गर्ने सोचमा छन् । ‘यात्रा’ पछि उनले पिताको व्यवसायलाई सम्हाल्दै आएका छन् ।
उनै, सलिनमान बुधवारबाट २६औं बसन्तमा प्रवेश गरेका छन् । २०५२ साल बैशाख २२ गते काठमाडौंमा जन्मिएका उनलाई सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्रामको माध्यमबाट फिल्मकर्मी र प्रशंसकहरुले जन्मदिनको शुभकामना दिइरहेका छन् । हलिउडका चर्चित गायक जस्टिन बिबरका डाइहार्ट फ्यान रहेका उनले काठमाडौंको युनिग्लोब कलेजबाट बिबिए गरेका हुन् ।
मिडियामा सलिमानको लभ लाइफको पनि निकै चर्चा हुने गरेको छ । फिल्ममा प्रवेश गर्नुभन्दा अगावैदेखि उनी प्रोफेसनल मेकअप आर्टिस्ट अस्प्रिना जिन्हा श्रेष्ठको प्रेममा छन् । उनीहरु विवाह गर्ने तयारीमा समेत रहेको बुझिएको छ । केही समय अगाडि उनले इन्स्टाग्राममा एक फ्यानले विवाहको बारेमा सोधेको प्रश्नमा अस्प्रिनासँग चाँडै विवाह गर्न लागेको जानकारी दिएका थिए ।

