Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

निखिलदेखि ‘माग्ने बुढा’ सम्मले सुरु गरे निःशुल्क एम्बुलेन्स सेवा

फिल्मीखबर, काठमाण्डौ, 2021/05/02
 
नेपालमा कोरोना संक्रमण उकालो लाग्दै गएको छ । दिनमै ५ हजारभन्दा बढी संक्रमित हुन थालेपछि देशैभर अस्पतालका शय्याहरु भरिँदै गएका छन् भने अस्पतालसम्म पुग्न एम्बुलेन्स समेत पाउन धौ-धौ हुन थालेको छ । उपत्यका बाहिरबाट कोरोनाको उपचारका लागि काठमाडौं आउनु परेको अवस्थामा त झन् सर्वसाधारणहरु एम्बुलेन्सलाई मात्र ५० हजारसम्म तिर्न बाध्य छन् । 
 
कोरोना संक्रमितका लागि अस्पतालसम्म पुग्न अक्सिनजनसहितको एम्बुलेन्स अभाव हुन थालेको खबर बाहिर आएपछि कलाकार र विभिन्न क्षेत्रका व्यक्तिहरुले सहयोगी हात अगाडि बढाएका छन् । अभिनेता निखिल उप्रेती, कलाकार केदार प्रसाद घिमिरे (माग्ने बुढा), पाइलट तथा कलाकार विजय लामा लगायतका व्यक्तिले निःशुल्क अक्सिजनसहितको एम्बुलेन्स सेवा सुरु गरेका छन् । 
 
नीजि सवारी नहुने र एम्बुलेन्सको खर्च तिर्न नसक्नेले मात्र सम्पर्क गर्न आग्रह गरिएको छ । अहिलेको समयमा सहयोगका चिजहरु खोजी-खोजी निकाल्नु पर्ने निखिल उप्रेती बताउँछन् । निःशुल्क एम्बुलेन्स सेवा सुरु गर्दै उनले सञ्चारकर्मीसँग भने, ‘अप्ठ्यारो अवस्थामा सहयोग पुर्‍याउनु मानवताको पहिलो कर्तव्य हो । त्यसैले संकटको समयमा सेवा पुर्‍याउने भावना सबैले राख्नुपर्छ ।’
 
उनले देश कोरोना सँगसँगै नराम्रो राजनीतिकको रोगले पनि ग्रसित रहेको बताए । उनी अगाडि भन्छन्, ‘हामी जबसम्म बुझ्न सक्दैनौं तबसम्म राजनीतिकको रोग निको पार्ने भ्याक्सिन कहिल्यै बन्दैन । त्यसैले यो बेला सरकारको मुख हेर्ने वा विरोध गर्नेभन्दा कोरोना महामारीले निम्त्याएको संकटलाई कसरी पार लगाउने भन्ने कुरामा ध्यान दिन जरुरी छ । सरकारसँग पछि लड्दै गरौंला ।’
 
त्यस्तै, कलाकार केदार घिमिरेले १५/१५ हजार उठाएर कोरोना संक्रमितका लागि सुरु भएको अक्सिजनसहितको निःशुल्क एम्बुलेन्स सेवाले आर्थिक अवस्था कमजोर हुनेलाई ठूलो राहत मिल्ने बताए । उनले संकटको घडीमा अनावश्यक रुपमा अक्सिजन ग्यासको जोह नगर्न र शरीरलाई पर्याप्त मात्रामा अक्सिजन चाहिने हुँदा भीडभाडमा मात्र मास्क लगाउन आग्रह गरेका छन् ।
 

Most Visited News (monthly)