.jpg)
विवाहको मौसम सुरु भएपछि अविवाहित नेपाली कलाकारहरुले परिवार, फ्यान र मिडियाबाट विवाहको प्रश्न पटक-पटक सामना गर्नुपर्छ । यस खालको प्रश्नमा उनीहरुसँग पनि रेडिमेड जवाफ तयार हुन्छ, ‘जहिले लगन जुर्छ, त्यहिले बिहे हुन्छ ।’ घरजम बसाएपछि करिअर डामाडोल हुने डरले कति कलाकारहरु विवाहका लागि हतार गर्दैनन् । कतिलाई भने यी कुरामा विश्वास छैन ।
बैशाख लागेसँगै फेरि विवाहको मौसम सुरु भएको छ । कोरोनाका कारण विभिन्न ठाउँमा निषेधाज्ञा भए पनि विवाहका लागि रोक लगाइएको छैन । जसले गर्दा दिनहुँ जसो सडकमा जन्तीको लस्कर देखिने गरेको छ । तर, यसपाली नेपाली कलाकारहरु वैवाहिक जीवनमा बाँधिएका छैनन् । यही बैशाख १५ गते अभिनेत्री सुपुष्पा भट्टले इन्गेजमेन्ट गरे पनि विवाहको मिति तय भइसकेको छैन ।
लगनको महिना सुरु भएपछि विवाहको प्रश्नले अभिनेत्री सारा सिरपालीलाई पनि हैरान बनाउने गरेको छ । हालै उनलाई एक फ्यानले इन्स्टाग्राममा विवाहको योजनाबारे सोधेका थिए । जसको जवाफमा उनले सही साथ पाएपछि विवाह गर्ने बताएकी छन् । आफ्नो जीवनमा अहिले कोही नभएको र आफूलाई बुझ्ने, साथ दिने सही व्यक्ति आएको खण्डमा विवाह गर्ने उनको आशय छ ।
.jpg)
फिल्म ‘रुद्र’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी साराको फिल्मी करिअर सुखद बन्न सकेको छैन । ‘रुद्र’ पछि ‘पिंजडा ब्याक अगेन र सुश्री सम्पत्ति’ मा काम गरेकी उनले तीनै फिल्मबाट निराशा भोग्नु पर्यो । अब उनलाई प्रदर्शनको पखाईमा रहेको फिल्म ‘गुन्जन’ बाट ठूलो आश छ । ‘सुश्री सम्पत्ति’ रिलिजताका उनी अभिनेता अनमोल केसीको प्रेममा रहेको निकै चर्चा चलेको थियो ।

