
अभिनेता कर्मा र अभिनेत्री लक्ष्मी बर्देवा अभिनीत फिल्म ‘अनन्त’ को सुटिङ सकिएको छ । क्यामेरा ‘अन’ भएको २० दिनमा फिल्मको सुटिङ प्याकअप भएको निर्माता नवविजय श्रेष्ठले बताए । निषेधाज्ञा खुलेपछि फिल्मको पोस्ट प्रोडक्सनको काम सुरु हुने उनको भनाई छ । फिल्मलाई जेसन लोप्चनले निर्देशन गरेका हुन् । यसअघि उनले केही लघु फिल्मको निर्देशन गरेका छन् ।
फिल्मले आफ्नो प्रेमका लागि हदसम्म जाने चरित्रको कथा उठाएको छ । निर्देशक जेसनको पटकथा लेखन रहेको फिल्मको सह-निर्मातामा रन्जन ढुंगाना र शीतल खड्का छन् । किपालय प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा जीवन अधिकारीको पनि मुख्य भूमिका छ । फिल्मलाई बबिन दुलालले खिचेका हुन् । फिल्मलाई यसै वर्ष प्रदर्शन गर्ने तयारीमा निर्माण टिम रहेको छ ।
निर्देशक जेसनले आफू क्रिस्टोफर नोलनको प्रशंसक रहेको र उनका ‘इन्सेप्सन’, ‘टेनेट’ जस्ता फिल्मको शैलीबाट प्रेरित भएर ‘अनन्त’ लेखेको बताएका छन् । उनले भने- ‘आफूले प्रेम गर्ने मानिसको रक्षाका लागि हामी कुन हदसम्म जान सक्छौं, फिल्मको कथा यही हो । तर, यसलाई हामीले साइफाइ फ्लेबर दिएका छौं ।’ फिल्मलाई काठमाडौं भ्यालीमा जीजीए ग्रुपले वितरण गर्नेछ ।

