Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

२९ वर्षकी भइन् पूजा, ‘प्रेमगीत’ ले बदलिएको थियो करिअर

फिल्मीखबर, काठमाडौं, 2021/04/30
सफलता र असफलता दुवै देखेकी अभिनेत्री हुन्, पूजा शर्मा । भिजे हुँदै म्यूजिक भिडियो र त्यसपछि फिल्ममा प्रवेश गरेकी उनले आफूलाई प्रमाणित गर्न ठूलै संघर्ष गर्नुपरेको थियो । फिल्म क्षेत्रमा उनको कोही ‘गडफादर’ थिएन । तर, सपना ठूलो थियो । आफ्नो सपना पूरा गर्न उनी संघर्षको मैदानबाट कहिल्यै विचलित भइनन् । आज उनले पाएको सफलता यसैको उपज हो ।
 
उनले फिल्म ‘थ्रि लर्भस’ बाट अभिनय करिअर सुरु गरेकी हुन् । यसमा अभिनेत्री प्रियंका कार्की लिड रोलमा थिइन् भने पूजा सहायक भूमिकामा । उनले लिड अभिनेत्रीको रुपमा अभिनय गरेको पहिलो फिल्म भने ‘मधुमास’ हो । यसपछि उनले ‘मेरो बेस्ट फ्रेन्ड, अझै पनि, चंखे शंखे पंखे’ फिल्ममा काम गरिन् । तर, त्यसबेलासम्म उनले सफलताको सुख प्राप्त गर्न सकेकी थिइनन् ।
 
२०१५ मा प्रदर्शन भएको सुदर्शन थापा निर्देशित फिल्म ‘प्रेमगीत’ ले भने उनको करिअरको रुपरेखा नै बदल्यो । फिल्म बक्सअफिसमा ठिकठाक चले पनि पूजाले नसोचेको सफलता हात पारिन् । यो फिल्ममा उनले निर्वाह गरेको चुलबुले स्वभावको ‘गीत’ क्यारेक्टर अझैसम्म दर्शकको मनमा बसेको छ । यही फिल्मबाट प्रदीप खड्का पनि ‘स्टार’ को रुपमा उदाएका थिए । 
 
 
पूजाको करिअरको सबैभन्दा सफल फिल्म ‘म यस्तो गीत गाउँछु’ हो । यो फिल्मको बक्सअफिस आँकडा उनले अभिनय गरेका अरु फिल्मले छुन सकेका छैनन् । ‘रामकहानी र पोइ पर्‍यो काले’ बाट अपेक्षित सफलता हासिल गर्न नसकेकी उनलाई अब प्रदर्शनको पखाईमा रहेका तीन फिल्म ‘म यस्तो गीत गाउँछु २, सम्हालिन्छ कहिले मन र सम्झना विर्सना’ बाट ठूलो आश छ ।
 
पूजालाई सफल अभिनेत्रीको रुपमा स्थापित गर्न सबैभन्दा ठूलो भूमिका निर्देशक सुदर्शन थापाको छ । ‘मधुमास’ देखि सुरु भएको उनीहरुको सहकार्य अहिलेसम्म कायमै छ । सुदर्शनले पूजा विना फिल्म बनाउन छाडेको वर्षौं भइसकेको छ । यही कारण उनीहरु प्रेममा रहेको चर्चा पनि चल्ने गरेको छ । तर, ‘रामकहानी’ पछि पूजाको नाम अभिनेता आकाश श्रेष्ठसँँग जोडिएको छ ।
 
पूजा नेपाली फिल्मकी सबैभन्दा महंगी अभिनेत्री समेत हुन् । उनले १५ लाखमा ‘सम्हालिन्छ कहिले मन’ र १८ लाखमा ‘पोइ पर्‍यो काले’ मा काम गरेकी थिइन् । निर्माणको तयारीमा रहेको फिल्म ‘मन परेसीे’ मा भने उनले २५ लाख बुझेको चर्चा छ । उनले म्यूजिक भिडियोबाट पनि राम्रो कमाई गर्ने गरेकी छन् । अहिले उनी आफ्नै कमाईले काठमाडौंमा दोस्रो घर ठड्याउँदैछिन्  ।
 
उनै, पूजा शर्मा शुक्रवारबाट २९ वर्षकी भएकी छन् । २०४९ बैशाख १७ गते सिन्धुपाल्चोकमा जन्मिएकी उनलाई सामाजिक सञ्जालको माध्यमबाट शुभचिन्तक तथा फिल्मकर्मीहरुले ‘बर्थ-डे विस’ गरिरहेका छन् । उनको हरेक वर्षको जन्मदिन फ्यानहरुले विशेष तरिकाले मनाउने गरेका थिए । तर, यसपाली कोरोनाका कारण उनले परिवारसँग मात्र जन्मदिन मनाउँदैछिन् । 
Most Visited News (monthly)