
हास्य साम्राज्ञीको उपाधि पाएकी बसुन्धरा भुषालले ६ महिना अगाडि अमेरिका भ्रमणको क्रममा उठेको ३ लाख २० हजार रुपैयाँ ‘चलचित्रकर्मी कल्याणकारी कोष’ मा हस्तान्तरण गरेकी छन् । बुधवार उनले चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल र बोर्डका सदस्य सचिव महेन्द्र प्रसाद साँखीलाई अमेरिकामा बसोबास गर्ने नेपालीबाट प्राप्त भएको रकम हस्तान्तरण गरेकी हुन् ।
भुषालको परिवारसँगै लोक गायक प्रेमराजा महत, कलाकार पुजा लामा, अभिनेत्री साराङ्गा श्रेष्ठ, अभिनेता दीलिप रायमाझी दाम्पति, अभिनेत्री अरुणिमा लम्साल, अभिनेता मुकेश आचार्य, अभिनेत्री रञ्जना शर्मा, कलाकार राधा शर्मा लगायतले कोषमा आर्थिक सहयोग गरेका छन् । अभिनेता पल शाहले पनि कोषलाई एक लाख एक सय एक रुपैयाँ सहयोग गर्ने बताइएको छ ।
चलचित्र विकास बोर्ड अन्तर्गतको ‘चलचित्रकर्मी कल्याणकारी कोष’ को संस्थापककालदेखि नै संयोजक रहेकी भुषाल कोषलाई बलियो बनाउन अहोरात्र खटेकी छन् । राष्ट्रियदेखि अन्तर्राष्ट्रिय कार्यक्रमसम्म उनले कोषको लागि सहयोग जुटाउँदै आएकी छन् । अहिले कल्याणकारी कोषमा ४ करोडभन्दा बढी रकम छ । यो रकम संकलन गर्न सबैभन्दा बढी उनकै भूमिका रहेको छ ।
यो कोषले समस्यामा परेका फिल्मकर्मीलाई सहयोग गर्ने, औषधी उपचार गर्ने, वृद्ध तथा असक्त फिल्मकर्मीलाई भत्ता वितरण गर्ने, मृत्युपरान्त काजकिरियामा सहयोग गर्ने लगायतको सेवा गर्दै आएको छ । तर, लकडाउनको समयमा रोजगारी गुमेर विहान बेलुका हातमुख जोर्न समेत समस्या भएका प्राविधिकहरुलाई कोषले सहयोग नगरेको भन्दै फिल्मकर्मीले नै विरोध जनाएका थिए ।

