(1).jpg)
मिस भारत र मिस हिमालयनकी फस्ट रनरअप रहेकी शिवानी गिरीले २०७५ सालमा प्रदर्शन भएको फिल्म ‘कहिँ कतै’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी हुन् । फिल्मलाई उनकी आमा उमा गिरीले निर्माण गरेकी थिइन् । बाल्यकालदेखि अभिनयमा रुची रहेकी शिवानीलाई डेब्यू फिल्मबाट ठूलो आश थियो । तर, कमजोर धरातलमा टेकेर बनेको फिल्मले दर्शक रिझाउन सकेन ।
शिवानीले अभिनयमा केही आश देखाए पनि फिल्मको असफलताले उनको करिअरमा ठूलो धक्का दियो । यसपछि उनले नयाँ फिल्ममा काम गरेकी छैनन् । अब उनले होम प्रोडक्सनभन्दा बाहिरको फिल्म नगर्ने भएकी छन् । उनकी आमा उमा गिरीले छोरीको लक्ष्य अभिनेत्री बन्नु नरहेको बताइन् । बलिउड फिल्मबाट अफर आउँदा समेत शिवानीले नगरेको उनको भनाई छ ।
छोरीको बारेमा उनी भन्छिन्, ‘उनको सोच के छ भने अब फिल्म नगर्ने । होम प्रोडक्सनमा राम्रो खालको क्यारेक्टर भए काम गर्ने तर अरु ब्यानरको फिल्म नगर्ने उनले निर्णय गरिसकेकी छन् । उनलाई बलिउड फिल्मबाट पनि प्रस्ताव आएको थियो तर रिजेक्ट गरिनँ । केही समय अगाडि उनले इन्डियामा मेकअप स्टूडियो खेलेकी छन् । उनको लक्ष्य नै यही थियो, जुन पूरा गरेकी छन् ।’
उमा गिरी चाँडै निर्देशक आकाश अधिकारीसँग मिलेर नयाँ फिल्म बनाउने तयारीमा छिन् । अहिले फिल्मको स्क्रिप्टमा काम भइरहेको छ । नेपाल र सिक्किममा खिचिने फिल्ममा शिवानीको अभिनय रहने प्रवल सम्भावना छ । उनले केही भारतीय सिरियल र म्यूजिक भिडियोमा समेत काम गरिसकेकी छन् । अब आफ्नो उद्देश्य पूरा गर्न उनले बाहिरी फिल्म नगर्ने निर्णय लिएकी छन् ।

