
फिल्म निर्माता तथा वितरक गोविन्द शाहीलाई काठमाडौं जिल्ला अदालतले सफाइ दिएको छ । मंगलवार ठगी मुद्धामा उनलाई अदालतले ‘क्लिन चिट’ दिएको हो । फिल्म ‘लिलिबिली’ बाट उठेको ८७ लाख ७४ हजार ७ सय ६५ रुपैयाँ (शेयर) नदिएको र नदेखाएको भन्दै २०७६ को कात्तिकमा निर्देशक मिलन चाम्स र निर्माता सुदीप खड्काले उनीविरुद्ध प्रहरीमा उजुरी दिएका थिए ।
सोही उजुरीको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको थियो र काठमाडौं जिल्ला अदालतले हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिएको थियो । यसपछि उनले दुई हप्ता हिरासतमा विताए । तर, सर्वोच्च अदालतको आदेशपछि उनी बन्दीप्रत्यक्षीकरण रिटमा रिहा भए । पछि फेरि उनलाई प्रहरीले पक्राउ गरेको थियो ।
अदालतले ठगी मुद्धामा ‘क्लिन चिट’ दिएपछि शाहीले बुधवार फेसबुकमा स्टाटस लेख्दै आफूले न्याय पाएको भन्दै अदालतप्रति आभार व्यक्त गरेका छन् । उनले मिलन र सुदीपप्रति कटाक्ष गर्दै लेखेका छन्, ‘सरकारी पदासिन व्यक्तिको अधिकार मिसयूज गरी अरुलाई दुःख दिने काम, अरुलाई विगार्न खोज्नुभन्दा पहिला आफूलाई एकपटक सोच्नुपर्छ भन्ने यो गतिलो जवाफ पनि हो ।’
.jpg)
उनले मिलन र सुदीपसँग मिलेर ‘लिलिबिली’ बनाएका थिए । फिल्ममा १ करोड ३२ लाख ९७ हजार ८ सय १४ रुपैयाँ लगानी भएको थियो । प्रदर्शनको समयमा हिटको डंका पिटिए पनि फिल्मले हलमा घुँडा टेकेको थियो । यसपछि शाहीले फिल्म ‘लभ स्टेशन’ निर्माण गरेका थिए । ‘संसार आफ्नै’, ‘पराई’, ‘कहाँ छौं कहाँ ?’ फिल्ममा उनले मुख्य भूमिकामा पनि अभिनय गरेका छन् ।

