
निर्देशक आकाश अधिकारी र अभिनेत्री उमा गिरीले नयाँ फिल्ममा सहकार्य गर्ने भएका छन् । केही दिन अगाडि सार्वजनिक भएको ‘त्यो तिम्रो चोखो प्रेमको नजरमा’ गीतमा अनस्क्रिन रोमान्स गरेका उनीहरुले संयुक्त रुपमा नयाँ फिल्म बनाउन लागेका हुन् । उमाका अनुसार, अहिले फिल्मको स्क्रिप्टमा काम भइरहेको छ । फिल्मलाई नेपाल र सिक्किममा खिचिने उनले बताइन् ।
द स्काइ मुभिज र उमा फिल्मस्को ब्यानरमा निर्माण हुने फिल्मलाई आकाश स्वंयले निर्देशन गर्नेछन् । फिल्मको बारेमा उमा भन्छिन्, ‘हामीले फिल्मका लागि लोकेशन हेरिसकेका छौं । केही दिनमा फेरि आकाशजी लोकेशन फाइनल गर्न सिक्किम जाँदै हुनुहुन्छ । स्थिति सामान्य भएपछि छायांकनमा निस्कने तयारीमा छौं । अहिले स्क्रिप्टलाई बलियो बनाउन मिहिनेत गरिरहेका छौं ।’
फिल्ममा उमाबाहेक अरु कलाकार फाइनल भएका छैनन् । तर, उमाकी छोरी शिवानी फिल्ममा मुख्य भूमिकामा हुन सक्ने प्रवल सम्भावना छ । यस विषयमा उनी भन्छिन्, ‘फिल्ममा दुई जना टिनएजरको मुख्य भूमिका रहनेछ । दुवैको राम्रो क्यारेक्टर छ । तर, फिल्ममा शिवानीको अभिनय हुन्छ वा हुँदैन भनेर अहिले नै भन्न सक्दिनँ । उनलाई सुहाउने क्यारेक्टर भए हुन पनि सक्छिन् ।’
उमाले यसअघि ‘कहिँ कतै, इशारा’ लगायतका फिल्म निर्माण गरिसकेकी छिन् । उता निर्देशक अधिकारी लकडाउनपछि अभिनेता द्वय सौगात मल्ल र शिव श्रेष्ठलाई लिएर नयाँ फिल्म बनाउने तयारीमा थिए । तर, फेरि कोरोनाको नयाँ लहर सुरु भएपछि फिल्मको छायांकन पोस्टपोन्ड गरिएको छ । अब उनले नयाँ फिल्मका लागि उमा गिरीसँग सहकार्यको हात मिलाएका छन् ।

