
चिनियाँ मुलकी निर्देशक क्लोइ झाओले ९३औं अस्कर अवार्डमा इतिहास रचेकी छन् । उनी निर्देशित फिल्म ‘नोम्याडल्यान्ड’ ले उत्कृष्ट निर्देशक, उत्कृष्ट अभिनेत्री र उत्कृष्ट फिल्म गरी तीन महत्त्वपूर्ण अवार्ड आफ्नो पोल्टामा पारेको छ । अस्करको इतिहासमा उत्कृष्ट निर्देशकको अवार्ड जित्ने उनी दोस्रो महिला हुन् । यसअघि निर्देशक क्याथरिन बिगलोले यो विधामा अवार्ड जितेकी थिइन् ।
‘नोम्याडल्यान्ड’ जेसिका ब्रुडरले लेखेको ‘नोम्याडल्यान्ड : द सर्वाइविङ अमेरिका इन द ट्वान्टि फस्ट सेन्चरी’ पुस्तकमा आधारित भएर निर्माण भएको हो । फिल्मको कहानी फर्न नामकी एक महिलाको बारेमा हो, जसको होमटाउनमा आर्थिक अभावका कारण मानिसहरुले आफ्नो घर छाड्छन् । ६१ वर्षकी विधवा फर्न पतिको निधन र घर छाडेपछि आफ्नो भ्यानमा बस्न सुरु गर्छिन् ।
यसै क्रममा उनी पश्चिम अमेरिकाको कयौं राज्य घुम्छिन् र एक मोर्डन बन्जाराको जसरी जिन्दगी विताउँछिन् । उनी आफ्नो वास्तविकतासँग जिउन सिक्छिन् । यो एक सर्भाइवलको कहानी हो, जसमा फर्न सडकमा जिन्दगी जिउँछिन्, कयौं अलग-अलग काम गर्छिन्, कयौं नयाँ साथी बनाउँछिन्, आफ्नो अतितको सामना गर्छिन् र आफ्नो जिन्दगीलाई नर्मल बनाउने कोशिश गर्छिन् ।
‘नोम्याडल्यान्ड’ मा क्लोइ चाओको निर्देशन गजबको छ । उनले फिल्ममा कयौं नाजुक पल र इमोसनलाई मनछुने ढंगबाट पस्किएकी छन् । फिल्ममा अभिनेत्री फ्रान्सिस म्याकडरम्यान्डको अभिनय सानदार छ । फिल्ममा उनको कयौं यस्ता दृश्य छन्, जसले दर्शकको दिमागमा छाप छाड्न सफल हुन्छ । यसमध्ये फर्न (फ्रान्सिस) ट्वाइलेट जान लागेको सिन चर्चित भएको थियो ।

