Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कोरोनाले हुन सकेन ‘तिमीसँगै हुने मन छ’ को सुटिङ, मुम्बई फर्कियो टिम

फिल्मीखबर, काठमाण्डौ, 2021/04/26
कोरोनाका कारण करीब ९ महिना फिल्म क्षेत्र ठप्प रह्यो । जसले गर्दा फिल्म क्षेत्रले अर्बौंको घाटा बेहोर्‍यो । सरकारले छायांकन र सिनेमा हल खोल्न अनुमति दिएपछि केही हदसम्म चलायमान भएको फिल्म क्षेत्र कोरोनाको दोस्रो लहर सुरु भएसँगै फेरि धरासायी बनेको छ । कोरोनाको जोखिम बढेपछि सरकारले बैशााख मसान्तसम्म सिनेमा हल बन्द गर्ने निर्णय गरिसकेको छ ।
 
सरकारले छायांकनमा प्रतिबन्ध नलगाएका कारण निर्माताहरुले फिल्मको सुटिङ भने रोकेका छैनन् । अहिले आधा दर्जन फिल्म फ्लोरमा छन् । जसले फिल्म क्षेत्रमा एउटा आश जगाएको थियो । तर, बैशाख १६ गतेबाट निषेधाज्ञा लाग्ने भएपछि फिल्मको छायांकन प्रभावित हुने भएको छ । निर्माणको तयारीमा रहेका फिल्मको पनि अनिश्चितकालका लागि छायांकन रोकिएको छ । 
 
 
निर्देशक दीवाकर भट्टराई बैशााख ५ गतेबाट फिल्म ‘तिमीसँगै हुने मन छ’ को छायांकन सुरु गर्ने तयारीमा थिए । तर, कोरोनाको दोस्रो लहर सुरु भएपछि फिल्मको छायांकन पोस्टपोन्ड गरिएको छ । फिल्मका लागि भारतबाट नायक रोहित सुचान्तीसहित १२ जनाको टिम नेपाल आइसकेको थियो । तर, प्रि-प्रोडक्सनको सम्पूर्ण काम सकेर छायांकनमा निस्कने बेला कोरोना भिलेन बन्यो ।
 
पोखरालाई छायांकन स्थल तोकिएको फिल्मको कोरोनाका कारण सुटिङ गर्न सम्भव नभएपछि भारतबाट आएको टिम २० दिन नेपाल बसेर मुम्बई फर्किएको छ । निर्देशक भट्टराई भन्छन्, ‘अझै १५ जनाको टिम मुम्बईबाट आउनुपर्ने थियो । तर, लकडाउन भयो भने गाह्रो हुन्छ भनेर जेठसम्मका लागि सुटिङ रोकेको छु । तर, यस्तो स्थिति छ, जेठबाट पनि के सुटिङ गर्न सकिएला र !’ 
 
शहरीय क्षेत्र र भीडभाडमा फिल्म खिच्नु पर्ने भएकाले यस्तो अवस्थामा छायांकन गर्न नसकिएको उनी बताउँछन् । १२ जनाको टिम झण्डै एक महिना नेपाल बस्दा ठूलो खर्च भएको उनले बताए । फिल्ममा रोहितसँग अभिनेत्री दीपिका प्रसाईंले रोमान्स गर्दैछिन् । फिल्ममा नाजिर हुसेनको पनि अभिनय रहनेछ । फिल्ममा छायाँकारदेखि कोरियोग्राफरसम्म बलिउडकै हुने दीवाकरले बताए ।
Most Visited News (monthly)