.jpg)
कोरोनाको जोखिम बढ्दै गएपछि नेपाल अन्तराष्ट्रिय फिल्म फेस्टिभल (निफ) को चौथो संस्करण यसपटक अनलाइन माध्यमबाट आयोजना हुने भएको छ । सरकारले २५ जनाभन्दा धेरै उपस्थित हुन नपाउने मापदण्ड जारी गरेपछि ‘निफ’ अनलाइनबाट हुन लागेको हो । सरकारको निर्देशन अनुसार नै सम्पूर्ण मापदण्ड अपनाएर फेस्टिभलको उद्घाटन गर्ने आयोजकले जनाएको छ ।
फेस्टिभलमा सहभागी फिल्मलाई अनलाइनका विभिन्न माध्यमबाट अझै प्रभावकारी रुपमा देखाइने ‘निफ’ का अध्यक्ष केपी पाठकले जानकारी दिए । यो समयमा अनलाइनमार्फत फेस्टिभल गर्दा दर्शकले अझै बढी लाभ लिन सक्ने उनको भनाई छ । फेस्टिभलका विषयगत बहसको कार्यक्रम प्रत्यक्ष आयोजना गरी विभिन्न अनलाइन माध्यमबाट प्रत्यक्ष प्रसारण गरिने उनले बताए ।
बैशाख २३ देखि २७ गतेसम्म हुने निफमा नेपाली फिचर फिल्मबाहेक ५२ देशका ४ सय ५० बढी फिल्मले सहभागीता जनाउँदैछन् । यो वर्ष कोरोना महामारीको विषयमा बनेका फिल्मलाई पनि अलग्गै विधामा प्रतिस्पर्धा गराइनेछ । कोभिडले पारेको प्रभावमा बनेका फिल्मले ५ सय अमेरिकी डलर तथा ट्रफी प्राप्त गर्नेछन् भने अन्य विधामा उत्कृष्ट फिल्मलाई पनि पुरस्कृत गरिनेछ ।

