
कोरोना भाइरसको दोस्रो लहर सुरु भएसँगै नेपालका विभिन्न क्षेत्रमा त्यसको असर परेको छ । नेपाली फिल्म क्षेत्र पनि यसबाट अछुतो छैन । करीब ९ महिना ठप्प भएर सञ्चालनमा आएको यो क्षेत्र फेरि कोरोनाले थिलथिलो बनाएको छ । संक्रमण फैलिन नदिन सरकारले बैशाख मसान्तसम्म सिनेमा हल बन्द गर्ने निर्णय गरेको छ । तर, फिल्मको छायांकनमा कडाइ गरिएको छैन ।
जसले गर्दा निर्माताहरु कोरोनाको प्रवाह नगरी फिल्मको छायांकन गरिरहेका छन् । यसबीच, मदन घिमिरेको निर्देशन रहने फिल्म ‘आँधी तुफान २’ को सुटिङ सुरु भएको छ । बिहीबार चाबहिलस्थित एक पार्टी प्यालेसमा क्यामेरा पूजा गर्दै फिल्मको छायांकन सुरु गरिएको हो । ०६१ सालमा महेन्द्र बुढाथोकीको निर्देशनमा बनेको यो फिल्मको १६ वर्षपछि सिक्वेल निर्माण हुन लागेको हो ।
लेखक मौनता श्रेष्ठको निर्माणमा बन्न लागेको फिल्ममा कनिजका कोइराल, आरती आचार्य, याङ्सु श्रेष्ठ, सन्जित भण्डारी, मुकुन्द थापा, ध्रुव कोइराला, संजय खतिवडा, पुस्कर राउत, सिवन लामा, राजाराम गौतम, गोकुल सुवेदी, सान अधिकारी, सोनी बिसी, जोया बुढाथोकी, रुपा केसी, सरोज दाहाल, बिन्दीया ठकुरी, रमेश तामाङ र बालकलाकार अरुण कालीराजको अभिनय रहनेछ ।
थ्रीलर र सस्पेन्स बिषयमा बन्न लागेको ‘आँधी तुफान २’ मा रामशरण उप्रेतीको छायांकन, प्रेम चुल्ठेको एक्सन, सुरेश अधिकारीको संगीत, हरि उप्रेती र दिनेश सुवेदीका गीत, रानी शाक्यको स्वर, कमल राईको नृत्य रहनेछ । फिल्मको छायांकन काठमाडौं, काभ्रे र धुलिखेलमा हुनेछ । एक पात्रको हत्याको अनुसन्धानमा परिचालित तीन युवतीको कथा फिल्मले वाचन गर्ने बताइएको छ ।

