Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कोरोना नेगेटिभ देखिए पनि आइसोलेसनमा केकी

फिल्मीखबर, काठमाडौं, 2021/04/22
 
मौसम परिवर्तनको समय भएकोले सामान्य रुघाखोकी र ज्वरो आउनु स्वभाविक नै हो । तर, कोरोना महामारीपछि सामान्य रुघाखोकी लाग्दा समेत मानिसहरु कोरोना नै हो भनेर डराउने गरेका छन् । कोरोनाको लक्षण र रुघाखोकीका लक्षणहरू मिल्दाजुल्दा भएकाले मानिसहरु झुकिन्छन् र आत्तिन्छन् । कतिमा सामान्य रुघाखोकी लाग्दा पनि कोरोना संक्रमण देखिएको छ ।
 
अभिनेत्री केकी अधिकारीलाई केही दिनअघिको हावाहुरीपछि रुघाले समातेको थियो । दुई दिन ज्वरो पनि आएपछि उनले कोरोनाको आशंका लागेर परीक्षण गराइन् । नभन्दै रिपोर्ट पोजेटिभ आयो । यसपछि चिकित्सकको सल्लाहअनुसार आफूलाई अलग्गै राखेकी उनले तीन दिनपछि पुनः परीक्षण गराइन् । दोस्रो पटकको परीक्षणमा भने उनमा कोरोना संक्रमण देखिएन ।
 
रिपोर्ट नेगेटिभ आए पनि उनले हाललाई आफूलाई आइसोलेट गरेकी छन् । बिहीवार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले कोरोनालाई खेलाँचीको रुपमा नलिन र उच्च सतर्कता अपनाउन आग्रह गरेकी छन् । कोरोनाबाट आफूसँगै अरुलाई पनि जोगाउन उनको अनुरोध छ । उनलाई यसअघि पनि कोरोना संक्रमण भएको थियो । उनले कोरोनाको खोप भने लगाएकी छैनन् ।
 
एक दशक लामो फिल्मी करिअरमा पहिलो पटक फिल्म ‘छ माया छपक्कै’ बाट हिटको सुख प्राप्त गरेकी उनी केही दिनमा फिल्म ‘घिन्ताङ’ को छायांकनमा व्यस्त हुँदैछिन् । यही मंगलवारबाट फिल्मको छायांकन सुरु गर्ने तयारीमा निर्देशक दीपक श्रेष्ठ थिए । तर, केकीमा कोरोना देखिएपछि केही दिनलाई छायांकन पछाडि सारिएको छ । फिल्ममा गौरव पहारीको पनि अभिनय रहनेछ ।
 

Most Visited News (monthly)