
भारतमा कोरोनाले विकराल रुप लिएको अवस्थामा सुपरस्टार सलमान खानले ठूलो फैसला लिएका छन् । कोरोनाका कारण भारतका कयौं राज्यमा सिनेमा घरहरु आंशिक रुपमा बन्द छन् । यसका बावजूद पनि सलमानले बुधवार आफू अभिनीत नयाँ फिल्म ‘राधे : योर मोस्ट वान्टेड भाई’ निर्धारित मितिमै प्रदर्शन गर्ने घोषणा गरेका छन् । बिहीवार फिल्मको ट्रेलर रिलिज गरिँदैछ ।
१३ मेमा थिएटरसँगै डिजिटल प्लेटफर्ममा फिल्म एकसाथ रिलिज हुनेछ । जी स्टूडियोजका सीबीओ शारिक पटेलले भनेका छन्, ‘हामीले ओटीटी प्लेटफर्म जीप्लेक्समा पनि फिल्म रिलिज गर्दैछौं । ४० ओभरसिज मार्केटमा जहाँ-जहाँ हलहरु खुलेका छन्, त्यहाँ पनि फिल्म रिलिज गर्नेछौं । यदी हामीले यो फिल्म सिनेमा हलमा रिलिज गरेनौं भने सलमानका फ्यानमाथि ठूलो धोका हुनेछ ।’
कोरियोग्राफर प्रभु देवा निर्देशित फिल्ममा ज्याकी श्राफ, दिशा पाटनी र रणदीप हुड्डाको पनि मुख्य भूमिका रहेको छ । जी स्टूडियोजले यो फिल्मको सेटेलाइट, थिएट्रिकल, डिजिटल र म्यूजिक राइट्स २ सय ३० करोडमा किनिसकेको छ । ‘राधे’ कोरियन फिल्म ‘द आउटलज’ को हिन्दी रिमेक रहेको बताइएको छ । फिल्ममा सलमान पुनः एकपटक प्रहरीको भूमिकामा देखिँदैछन् ।

