विश्वमा कोरोनाको दोस्रो लहर सुरु भएको छ । छिमेकी मुलुक भारतमा दिनहुँ २ लाखभन्दा बढी संक्रमित भेटिन थालेका छन् । नेपालमा पनि संक्रमण दर बढ्दो छ । एकै दिनमा एक हजारभन्दा बढीमा संक्रमण देखिन थालेपछि सरकारले यसको रोकथामका लागि मानिसहरुको अत्याधिक भीडभाड रहने सिनेमा हलसहित विभिन्न क्षेत्रलाई बैशाख मसान्तसम्म बन्द गर्ने निर्माण गरेको छ ।
यसअघि पनि सरकारले कोरोनाका कारण ९ महिना सिनेमा हल सञ्चालनमा रोक लगाएको थियो । तर, गत पुष १० गते हल व्यवसायीहरुले सरकारको निर्णय अटेर गर्दै सिनेमा हल खोले । सरकारले भने माघ २६ गते ५० प्रतिशत अकुपेन्सीमा हल खोल्न अनुमति दियो । यसपछि केही नेपाली र विदेशी फिल्म प्रदर्शनमा आए । तर, कुनैले हलसम्म दर्शकको ठूलो भीड तान्न सकेन ।
.jpg)
दर्शक नहुँदा पनि तीन महिनासम्म जेनतेन चलेका सिनेमा हल कोरोनाका कारण फेरि बन्द भएपछि हल व्यवसायीहरुको करोडौंको लगानी जोखिममा परेको छ भने फिल्म क्षेत्रको भविष्य नै अन्योल बनेको छ । हलमा फिल्म चलेर दर्शक नआउँदासम्म फिल्म क्षेत्र चलायमान हुँदैन । यसकारण अब फिल्म क्षेत्र कहिले पुरानो अवस्थामा फर्किन्छ, यसै भन्न सकिने अवस्था छैन ।
सरकारले सिनेमा हल बन्द गर्ने निर्णय गरेपनि फिल्मको छायांकनमा प्रतिबन्ध लगाएको छैन । जसले गर्दा निर्माताहरु फिल्मको छायांकन रोक्ने मूडमा छैनन् । कोरोनाको कहरबीच पनि दिनहुँँ कुनै न कुनै फिल्म छायांकन निस्किरहेका छन् । सोमवारबाट एकसाथ दुई फिल्म ‘बाबरी र प्रेमगन्ज’ ले छायांकन सुरु गरे । दुई हप्तादेखि फिल्म ‘बिहे पास’ को पनि छायांकन भइरहेको छ ।
‘गोर्खा वारियर २, क्रसरोड्स–कथा तिम्रो र मेरो’, अनन्त’, अभियान’, जार’ लगायतका फिल्म पनि यतिबेला छायांकनमा छन् । त्यस्तै, अबको एक हप्तामा दीपक श्रेष्ठले फिल्म ‘घिन्ताङ’ को सुटिङ सुरु गर्दैछन् । फिल्म ‘कबड्डी ४’ पनि छायांकनमा निस्कनका लागि तयारी अवस्थामा छ । निर्देशक विकासराज आचार्य पनि यही महिनाभित्र नयाँ फिल्मको छायांकन सुरु गर्ने योजनामा छन् ।
खुलेको तीन महिनामै पुनः सिनेमा हल बन्द भएपछि निराशा छाएको फिल्म क्षेत्रमा कोरोनाका बावजूद पनि फिल्मको सुटिङ नरोकिँदा आशाको किरण पलाएको छ । तर, फिल्म निर्माण भएर मात्र फिल्म क्षेत्र चलायमान हुँदैन । जबसम्म निर्माण भएको फिल्म हलमा लाग्दैन तबसम्म फिल्म बन्नुको पनि औचित्य हुन्न । यसैले फिल्म क्षेत्रको संकट टर्न सिनेमा हल नै खुल्न जरुरी छ ।

