 -01 (1)(2) (1).jpg)
पछिल्ला छिमलका हिरोहरुमध्ये अभिनयमा अब्बल मानिन्छन्, प्रदीप खड्का । ‘प्रेमगीत’ बाट आफूलाई अभिनयमा प्रमाणित गरिसकेका उनी एकैखाले भूमिकामा सीमित भएको आरोप भने लाग्ने गरेको छ । डेब्यू फिल्मदेखि न उनले निर्वाह गरेका भूमिकामा खासै फरकपन छ न त अभिनयमा विविधता । जसले गर्दा उनी युवापुस्ताका दर्शकको घेरामा मात्र अड्किएका छन् ।
हाल जुम्लामा छायांकन भइरहेको फिल्म ‘प्रकाश’ मा भने प्रदीप चकलेटी भूमिकाबाट बाहिर निस्कँदैछन् । यसमा उनले जुम्लाको एक निम्न वर्गिय युवकको भूमिका निर्वाह गर्दैछन् । यसअघि गाउँले युवकको भूमिका निर्वाह नगरेका कारण उनका लागि यो भूमिका चुनौतीपूर्ण मानिएको छ । दिनेश राउतले क्याप्टेनसिप सम्हालेको फिल्ममा प्रदीपको जोडी रेनु योगीसँग बाँधिएको छ ।
प्रदीपले ‘प्रकाश’ मा आफूले नयाँ चुनौतीहरु स्वीकार गर्दै नयाँ प्रयास गर्न लागेको बताएका छन् । आइतवार साँझ इन्स्टाग्राममा एक फ्यानले सोधेको प्रश्नको जवाफ दिँदै उनले भनेका छन्, ‘मैले यसअघि कुनै फिल्ममा यसप्रकारको प्रयास गरेको थिइनँ, जुन ‘प्रकाश’ मा गर्दैछु । नयाँ चुनौतीहरु स्वीकार गर्दै म आफ्नो कम्फर्ट जोनबाट बाहिर निस्किँदैछु । छोटकरीमा भन्दा यो वृद्धि हो ।’
अर्का एक प्रशंसकले ‘प्रकाश’ नेपालको शिक्षा क्षेत्रको एउटा प्रकाश हुनेछ ? भनेर सोधेको प्रश्नमा उनी अगाडि भन्छन्, ‘प्रकाश नेपालको सम्पूर्ण प्रणालीमा एक प्रकाश हुनेछ । शिक्षा क्षेत्र प्रणालीको एक हिस्सा हुनेछ ।’ यो फिल्ममा प्रदीपले सरकारी स्कुलको शिक्षक बन्ने गरेको संघर्षलाई देखाइनेछ । आफ्नो चरित्रलाई न्यायपूर्वक निर्वाह गर्न उनले १० केजी तौल समेत घटाएका छन् ।

