कुनै समय बलिउडमा एकछत्र राज गरेकी अभिनेत्री मनीषा कोइरालाले केही दिन अगाडि एक अन्तर्वार्तामा भनेकी थिइन्, ‘म पपुलर छु, मेरा धेरै फ्यान छन् भन्नु भ्रम मात्र हो ।’ यो उनी स्वयंले भोगेको अनुभव हो । करिअरको उत्कर्षमा रहँदा उनका अगाडि पछाडि दौडिने धेरै थिए । तर, क्यान्सरका कारण जीवन र मृत्युसँग लडिरहँदा उनलाई साथ दिने परिवारका सदस्य मात्रै थिए ।
केही फिल्म हिट हुँदैमा स्टार सम्झने र सधैं यही उचाईमा रहन्छु भन्ने भ्रममा बाँच्ने कलाकारहरुले मनीषाको अनुभवबाट सिक्न जरुरी छ । ‘सेल्फी किङ’ मा विपिन कार्कीले बोलेको संवाद झैँ ‘कलाकारको स्टारडम भनेको मुतको न्यानो मात्र हो ।’ एक विन्दूमा पुगेपछि स्टारडम, पपुलारिटी केही रहँदैनन् । त्यसैले आफू पपुलर छु भनेर घमण्ड गर्नु आत्मरतीमा रमाउनु बाहेक केही होइन ।
यही भ्रममा बाँच्ने कलाकारहरु नेपालमा पनि धेरै छन् । संघर्षको बेला काम माग्न हात जोड्ने कलाकारहरु सफलता उन्मुख हुन थालेपछि हात मिलाउन समेत टाउको कन्याउँछन् । शनिवार भएको नेफ्टा अवार्डमा अभिनेता पल शाहले देखाएको व्यवहारले यस्तै बयान गर्थ्यो । करीब ४ बजे अवार्ड कार्यक्रममा पुगेका उनलाई म्यानेजरसहितको एक समुहले घेरा हालेर ल्याएको थियो ।
.jpg)
कलाकार तथा अन्य अतिथीको तस्विर र भिडियो खिच्न होटल सोल्टीको आँगनमा दिउँसो २ बजेदेखि सयौं मिडियाका क्यामेराहरु ठडिएर बसेका थिए । अवार्डमा सहभागी भएका उपराष्ट्रपति नन्दबहादुर पुनदेखि करिश्मा मानन्धर, भुवन केसी, निरुता सिंह लगायत सबैले मिडियालाई हात हल्लाउँदै कार्यक्रम भएको हलमा प्रवेश गरे । पलले भने मिडियामा देखिनु अपराध झैँ ठाने ।
मोडल गरिमा शर्मासँग नृत्य प्रस्तुत गर्न पुगेका पल म्यानेजरसहित तीन जनाको सुरक्षा घेरामा थिए । यस्तो लाग्थ्यो, उपराष्ट्रपति उपस्थित अवार्ड कार्यक्रममा उनी पत्रकार र कलाकारसँग असुरक्षित थिए । उनले मिडियाका लागि तस्विर खिचाउनु त टाढाको कुरा हात समेत हल्लाएनन् । पलको यो रवाफ देखेर उनलाई संघर्षको समयदेखि चिन्ने र जान्नेहरु समेत चकित भएका थिए ।
लकडाउनको समयमा रोजगारी गुमेर विहान बेलुका हातमुख जोर्न समेत समस्या भएका फिल्म प्राविधिकहरुका लागि ५ लाख बराबरको खाद्यन्न सहयोग गरेका पल उनै प्राविधिकहरुको संस्था चलचित्र प्राविधिक संघले आयोजना गरेको नेफ्टा अवार्डमा उपराष्ट्रपतिलाई पनि मात दिने गरी सुरक्षाको घेराभित्र पुग्नुले अब उनी सामान्य व्यक्तिको पहुँचभन्दा धेरै माथि पुगेको भान हुन्थ्यो ।
साँझको करीब ७ बजे अवार्ड कार्यक्रमबाट बाहिरिँदै गर्दा पल मिडियामा केही बोल्न तयार भए । तर, मिडियाकर्मीलाई उनको छेउ आउन नदिन म्यानेजरसहितको समुह छाती फुलाएर पिल्लरझैँ उभिएको थियो । अवार्ड समारोहमा पुगेका दर्शकहरु पलको सुरक्षा देखेर सेल्फी लिन समेत डराइरहेका थिए । यो दृश्य हेर्दा लाग्थ्यो, अब पललाई छुनु भनेको कोहिनूर हिरा छुनु बराबर हो ।
मिडियासँग छोटो कुराकानीपछि उनी होटलबाट बाहिरिँदै गर्दा चलचित्र पत्रकार संघका अध्यक्ष दिनेश सिटौलासँग जम्काभेट भयो । अध्यक्ष सिटौलाले हात मिलाउन खोज्दा म्यानेजरले पललाई कुखुराले पखेटामा चल्ला लुकाएझैँ लुकाए । अरु समयमा अध्यक्ष सिटौलालाई हातै जोडेर नमस्कार गर्ने पलले त्यसबेला टाढैबाट ‘गएँ है’ भन्दै हात हल्लाए । यो दृश्य धेरैलाई अस्वभाविक लाग्यो ।
कलाकारहरुले आफ्नो सहजताका लागि म्यानेजर वा बडिगार्ड राख्नु सामान्य कुरा हो । तर, केका लागि म्यानेजर र कहाँ जाँदा बडिगार्ड चाहिन्छ भन्ने ज्ञान उनीहरुमा हुनुपर्छ । फिल्म रिलिजको समयमा सिनेमा हलमा जाँदा सुरक्षाका लागि बडिगार्ड आवश्यक पर्न सक्छ । तर, सीमित उपस्थिति रहने अवार्ड कार्यक्रममा सुरक्षा घेराभित्र आउनु ‘म पपुलर छु’ भनेर भ्रममा बाँच्नु मात्रै हो ।

