कुनै पनि फिल्मको सिक्वेल वा सिरिज किन बनाइन्छ ? यसको एउटै उद्देश्य हो- व्यापारिक । हिट भइसकेका फिल्मको ब्रान्ड बेच्न सजिलो हुने भएकाले निर्माताहरु नयाँ नाममा फिल्म बनाएर जोखिम उठाउन चाहँदैनन् । त्यसैले विश्व फिल्म उद्योगमा नै यतिबेला हिट फिल्मको सिक्वेल वा सिरिज बनाउने होडबाजी चलेको छ । यसबाट नेपाली फिल्म क्षेत्र कसरी अछुतो रहन सक्थ्यो र !
लकडाउनयता नेपालमा घोषणा भएका फिल्मको सूची हेर्ने हो भने प्रायः हिट फिल्मका दोस्रो पार्ट छन् । अचेल जुन फिल्म बक्सअफिसमा हिट हुन्छ, त्यसको दोस्रो पार्ट बनेकै हुन्छ । एक फिल्मको त पाँचौं श्रृंखलासम्म निर्माण भइसकेको छ । तर, अपवादबाहेक कुनैले कथा र पात्रलाई निरन्तरता दिएका छैनन् । सिर्फ ब्याज खाने उद्देश्यले सिक्वेल वा सिरिज बनेका छन् ।
विश्वमा हिट फिल्मको दोस्रो वा अन्य पार्ट निर्माण भइरहँदा नेपालमा भने फ्लप फिल्मको पनि सिक्वेल बन्न थालेका छन् । चाँडै फ्लप फिल्म ‘छड्के’ को ‘पार्ट टू’ बन्दैछ । त्यस्तै, अर्को फ्लप फिल्म ‘लप्पन छप्पन’ को सिक्वेल चैत २७ मा रिलिज हुँदैछ । मेकिङबाहेक कुनै पक्षको प्रशंसा नभएको यो फिल्मको किन सिक्वेल बनाइयो होला ? धेरैका लागि यो चासोको विषय बनेको छ ।

यसबारेमा निर्देशक मुकुन्द भट्ट भन्छन्, ‘लप्पन छप्पन’ हिट होइन । निर्देशकको रुपमा मलाई नै मन नपरेको फिल्म हो । हामीले सीमित बजेटमा विदेशमा अनुमति लिएर फिल्म खिचेका थियौं । नेपालमा गरिरहेको बानीले सजिलै होला भन्ने सम्झेका थियौं तर सेटमा पुगेपछि धेरै कुरामा कम्प्रमाइज हुँदै गयो । जसोतसो फिल्म तयार गरेर रिलिज गरियो । त्यसमा धेरै गल्ती भएका थिए ।’
‘लप्पन छप्पन’ मा भएको कमजोरीलाई सच्याउन दोस्रो पार्ट बनाएको उनको जिकिर छ । उनी अगाडि भन्छन्, ‘पहिलो पार्टमा जुन कम्प्रमाइज मैले गरेँ, त्यसलाई परिपूर्ति गर्न कथा खोज्न थालेँ । यसका लागि २ वर्ष लाग्यो । पहिला फिल्ममा दुई निर्माता मात्र जोडिएका थिए । कम्प्रमाइज नगरी खिच्दै जाँदा निर्माताहरु बढे । तर, मैले जे सोचेको थिएँ त्यो कुरा यसमा उतार्न पाएको छु ।’
पहिलोमा भएको कमजोरी दोस्रोमा देख्न नपाउने उनको भनाई छ । उनी दाबीका साथ भन्छन्, ‘धेरै त भन्दिनँ, ५ प्रतिशतले ‘वान’ भन्दा ‘टू’ राम्रो बनेको छ ।’ पहिलो पार्टमा लागेको दागलाई ‘लप्पन छप्पन २’ बाट मेटाउन सक्नेमा उनी विश्वस्त देखिएका छन् । कोरोनाका कारण धरासयी बनेको फिल्म क्षेत्रलाई उठाउन आफूले फिल्म रिलिज गर्ने साहस गरेको निर्देशक भट्ट बताउँछन् ।

