
९० को दशककी चर्चित अभिनेत्री सोमी अलीले ‘नो मोर टियर्स’ नामको एक एनजिओ चलाउँदै आएकी छन् । यसबाट उनले बलात्कृत र यौन शोषणको शिकार भएका बच्चाहरुको स्क्यू गर्ने गरेकी छन् । बलिउड सुपरस्टार सलमान खानकी पूर्व प्रेमिका समेत रहेकी ४४ वर्षिय सोमीले एक अन्तर्वार्तामा आफू १४ वर्षको उमेरमा बलात्कारको शिकार भएको खुलासा गरेकी छन् ।
उनले भनेकी छन्, ‘जब म ५ र ९ वर्षको थिएँ तब मेरो यौन शोषण भएको थियो र १४ वर्षको उमेरमा बलात्कृत भएकी थिएँ । मेरो पहिलो यौन शोषण पाकिस्तानमा भएको थियो । त्यसबेला म भर्खर ५ वर्षको थिएँ । यो कुरा मैले माता-पितालाई भनेँ । एक्सन पनि लिइयो । तर, परिवारले मलाई यो कुरा अरु कसैलाई नभन्न भनेका थिए । यो कुरा मेरो दिमागमा कयौं वर्षसम्म घुमिरह्यो ।’
सन् २००७ मा सोमीले ‘नो मोर टियर्स’ संस्था सुरु गरेकी थिइन् । संस्थाले सुरुवातमा घरेलू हिंसाका शिकार भएका मानिसको मद्दत गरेको थियो । पछिल्लो १४ वर्षमा उनको संस्थाले हजारौं महिला, पुरुष र बच्चाको अनुहारमा मुस्कान फर्काउने काम गरेको छ । उनले फिल्म करिअरको सुरुवात भने फिल्म ‘मैंने प्यार किया’ बाट गरेकी थिइन् । यसमा उनको अपोजिटमा सलमान खान थिए ।
यही फिल्ममा काम गर्दैगर्दा उनी सलमानको प्रेममा डुबेकी थिइन् । उनीहरु विवाहको तयारीमा समेत थिए । सोमीले एक अन्तर्वार्तामा भनेकी छन्, ‘म टिनएजर हुँदा सलमानमाथि क्रस भयो । यही क्रशले मलाई फ्लोरिडाबाट भारत ल्यायो । मैले फिल्म नै सलमानसँग विवाह गर्न सकुँ भनेर गरेको थिएँ ।’ ८ वर्षसम्म प्रेम सम्बन्धमा रहेपछि सलमान र सोमीको ब्रेकअप भएको थियो ।

