.jpg)
आउँदो चैत २७ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘कृष्ण लीला’ को शुक्रवार पहिलो पोस्टर सार्वजनिक भएको छ । ‘कुनै दिन र डियर बन्न मन छ’ गीतका कारण चर्चामा रहेको फिल्मको सार्वजनिक पोस्टरमा अभिनेता पुष्प खड्कालाई मात्र स्थान दिइएको छ । भिन्न गेटअपमा देखिएका उनको आँखामा लहराको चस्मा र हातमा कलमले बनाएको घडी देख्न सकिन्छ ।
उनको यो गेटअपले दर्शकमा फिल्मप्रति उत्सुकता र कौतुहलता जगाएको छ । पोस्टरमा पुष्पको भाव हेर्दा फिल्ममा उनी सुस्त मनस्थिति भएको युवकको भूमिकामा हुनसक्ने आँकलन गर्न सकिन्छ । ‘मंगलम’ मा प्यारालाइसिस भएको युवकको भूमिकामा जीवन्त अभिनय गरेका उनले ‘कृष्ण लीला’ मा फेरि एकपटक चुनौतीपूर्ण भूमिका निर्वाह गरेको सार्वजनिक पोस्टरले बुझाउँछ ।
दीपक ओलीको निर्देशनमा बनेको फिल्ममा पुष्पको जोडी अभिनेत्री श्रद्धा क्षेत्रीसँग बाँधिएको छ । बुद्धि तामाङ, रबिन्द्र झा, भावना गुरुङ, नवीन रेग्मी, हिउँवाला गौतम, आयुष गुरागाई लगायतको पनि अभिनय रहेको फिल्ममा शिव ढकालको छायांकन, अर्जुन जिसीको सम्पादन, अर्जुन पोखरेलको संगीत, लक्ष्मण सुवेदीको कथा, रामजी लामीछानेको कोरियोग्राफी र श्री श्रेष्ठको द्वन्द्व छ ।
रोहित कट्टेल प्रस्तुतकर्ता रहेको फिल्ममा रत्न श्रेष्ठ कार्यकारी निर्माता, प्रकाश राज कार्की र केवल तामाङ निर्माता, पिताम्बर आचार्य र रोजन श्रेष्ठ सह-निर्मातामा छन् । यो फिल्म बक्सअफिसमा ‘लप्पन छप्पन २ र मनसँग मन’ सँग भिड्दैछ । यसमध्ये ‘मनसँग मन’ मा पनि पुष्पकै मुख्य भूमिका छ । आफूले खेलेका दुई फिल्म एकै मितिमा भिड्ने भएपछि उनी तनाबमा छन् ।

