 (1).jpg)
अभिनेता राजेश हमाल चार वर्षपछि फिल्ममा कमब्याक गर्दैछन् । ‘सकुन्तला’ पछि अफर आएका थुप्रै फिल्म अस्वीकार गरेका उनले गएको महिना फिल्म ‘सत्यम्’ साइन गरेका हुन् । अहिले यो फिल्मको स्क्रिप्टलाई बलियो बनाउन उनी आफैं भिडिरहेका छन् । आउँदो चैत अन्तिम साताबाट छायांकन सुरु हुन लागेको फिल्ममा अनुपविक्रम शाही र पल शाहको पनि अभिनय रहनेछ ।
हमालले ‘सत्यम्’ भन्दा अगाडि आफू अरु फिल्ममा आबद्ध नहुने बताएका छन् । यो फिल्म प्रदर्शनपछि केही समय ब्रेक लिनसक्ने उनको भनाई छ । मंगलवार एक अन्तर्वार्तामा उनले भने- ‘अहिले मेरो ध्यान सबै यही फिल्ममा छ । यो प्रोजेक्टका लागि हामीले व्यापक रुपमा गृहकार्य गरिरहेका छौं ।’ उनले विगतमा झैँ अब आफू लगातार फिल्म गर्ने योजनामा नरहेको बताएका छन् ।
अभिनेता हमाल आफ्ना समकालिन कलाकारसँग फिल्ममा काम गर्न पनि इच्छुक देखाएका छन् । केही दिन अगाडि धिरेन शाक्यले आफूले बनाउन लागेको फिल्म राजेश हमाललाई अफर गर्न लागेको बताएका थिए । यस विषयमा हमालले भनेका छन्, ‘अहिलेसम्म उहाँले फिल्म प्रस्ताव चाहिँ गर्नुभएको छैन । ‘सत्यम्’ गरेपछि स्क्रिप्ट र चरित्र मनपर्यो भने काम गर्न तयार हुनेछु ।’
उनी अगाडि भन्छन्, ‘म कलाकार हुँ, कथा र चरित्र मन परेपछि काम गर्न समस्या हुँँदैन । त्यसमाथि विगतमा मसँग कुनै न कुनै फिल्ममा खेलिसक्नुभएको व्यक्ति भएकाले रमाइलो पनि हुन्छ । पुराना कुराहरु पनि निस्कन्छन् ।’ ‘सिमाना’, ‘भिष्मप्रतिज्ञा’ जस्ता फिल्ममा हमाल र शाक्यको केमेस्ट्री दर्शकहरुले निकै रुचाएका थिए । तर, वर्षौंदेखि उनीहरुको सम्बन्ध राम्रो नभएको बताइन्छ ।

