नेपाली फिल्मका अघिल्लो पुस्ताका कलाकारहरु फिल्म निर्माणमा होमिने क्रम बढ्दो छ । करिश्मा मानन्धर, भुवन केसी, निखिल उप्रेती, विराज भट्ट, शिव श्रेष्ठ, आर्यन सिग्देल लगायतले फिल्म निर्माणमा हात हालिसकेका छन् । तर, अभिनयमा झैँ फिल्म निर्माणमा सफलता थोरैले पाएका छन् । अब एक समयका चर्चित अभिनेता धिरेन शाक्यले पनि फिल्म निर्माण गर्ने भएका छन् ।
लकडाउनभन्दा अगाडि नै उनी आफ्नो एकल लगानीमा फिल्म बनाउने तयारीमा थिए । यसका लागि उनी केही चरण स्क्रिप्ट राइटरसँग पनि बसेका थिए । तर, कोरोनाका कारण उक्त फिल्मको काम अगाडि बढ्न सकेन । अब उनले एक समयका चर्चित कलाकार तथा द्वन्द्व निर्देशक राजेन्द्र खड्गीसँग मिलेर फिल्म बनाउने भएका छन् । उनी स्वयंले यसको जानकारी दिएका हुन् ।
.jpg)
‘कोरोना महामारीभन्दा अगाडि राजेन्द्रले पुराना कलाकारलाई लिएर फिल्म बनाउँ भनेर मसँग सल्लाह गरेको थियो । यसका लागि उसले राम्रो तयारी गरेको थियो । मसहित राजेश हमाल, भुवन केसी, शिव श्रेष्ठलाई मिलाएर फिल्म बनाउने तयारी हुँदै गर्दा कोरोनाले बिथोल्यो । अहिले बजारको माहोल देखेर पछाडि हटेका छौं । बजार ब्यालेन्समा गयो भने फिल्म बनाउँछौं,’ उनले भने ।
पुराना कलाकारलाई दर्शकहरुले एकसाथ हेर्न चाहेका कारण आफूहरुले पहल गरिरहेको उनको भनाई छ । ‘हामी पुराना ४-५ जना कलाकार मिलेर फिल्म गर्यौं भने त्यो सफल हुन्छ भन्ने थाहा छ,’ शाक्यले थपे- ‘मिलेसम्म हामी चारै जना भयौं भने झन् राम्रो । सम्भवतः फिल्ममा शिव दाई, राजेश र म हुनसक्छौं ।’ हल राम्रोसँग चल्न थालेपछि फिल्मको काम अगाडि बढ्ने उनले बताए ।
करिअरको उत्कर्षमा रहँदा धिरेनले एक अन्तर्वार्तामा राजेश हमाललाई ‘चिन्दिनँ’ भनेपछि उनी दर्शकको आँखाको तारो बनेका थिए । यसपछि उनको हमालसँग सम्बन्ध विग्रियो, जुन अहिलेसम्म सुध्रिएको छैन । अब धिरेन पुरानो दुश्मनी भुलेर हमालसँग सहकार्यको हात अगाडि बढाउन तयार देखिएका छन् । तर, राजेश हमाल पो उनीसँग फिल्ममा काम गर्न तयार हुन्छन् कि नाईं ?
तस्विर : संगीत ओली

