नेपालमा गीत विनाका फिल्म औंलामा गन्न सकिने संख्यामा मात्र छ । गीत चलिदियो भने त्यसको फाइदा फिल्मको व्यापारमा पुग्ने विश्वास फिल्मकर्मीहरुमा छ । त्यसैले कथाको माग होस् वा नहोस्, फिल्ममा गीत अनिवार्य हुन्छ । गीत हिट भएका फिल्मले इनिसियल व्यापार राम्रो गरेका उदाहरण धेरै छन् । गीत चलेर फिल्म बक्सअफिसमा डुबेका उदाहरण पनि अगन्य मात्रामा छन् ।
गीत हिट भएपछि फिल्मको हाइप निर्माण हुने विश्वासका कारण अचेल निर्माता तथा निर्देशकहरुले गीतको अडियो र भिडियोमा बढी मिहिनेत गरेको पाइन्छ । निर्माताले विना कञ्जुसाईं खर्च गर्ने हो अहिले एउटा गीतको भिडियो तयार पार्न ५ लाखभन्दा कमले पुग्दैन । यति महंगोमा तयार पारिएको गीतले यूट्युबमा एक लाख पनि भ्यूज प्राप्त नगरे निर्मातालाई कति पीडा हुन्छ होला ?
.jpg)
फिल्म ‘कृष्ण लीला’ का निर्माता अहिले यस्तै पीडामा हुनुपर्छ ! किनकि, शुक्रवार सार्वजनिक भएको ‘डियर बन्न मन छ’ बोलको गीतलाई यूट्युब रिलिजको २ दिनमा ३० हजार भ्यूज बटुल्न पनि महाभारत परेको छ । यो समाचार बनाउँदासम्म गीत हेर्नेको संख्या २९ हजार आसपास छ । निशान भट्टराई र समीक्षा अधिकारीको स्वर रहेको गीतमा अर्जुन पोखरेलले संगीत भरेका छन् ।
रामजी लामिछानेको कोरियोग्राफी रहेको भिडियोमा नायक पुष्प खड्का र नायिका श्रद्धा क्षेत्रीसँगै बुद्धि तामाङ, रबिन्द्र झा, भावना गुरुङ लगायत फिचर छन् । म्यूजिक भिडियोबाट राम्रो क्रेज बनाएका पुष्पका कारण यो गीतले यूट्युबमा भ्यूजको अभाव झेल्नु नपर्ने निर्माण टिमको विश्वास थियो । किनकि, उनले खेलेका म्यूजिक भिडियोले यूट्युबमा राम्रो भ्यूज पाएका उदाहरण छन् ।
तर, म्यूजिक भिडियोमा देखिरहने अनुहार भएकाले यो गीतलाई पनि दर्शकहरुले पुष्पको म्यूजिक भिडियो मानेका कारण भ्यूजको खडेरी भएको हुनसक्ने एकथरीको विश्लेषण छ । त्यस्तै, अडियो र भिडियो बलियो नहुनु र गीत सार्वजनिक भएको ‘साइराम पिक्चर्स’ चल्तीको यूट्युब च्यानल नभएकाले ‘डियर बन्न मन छ’ गीतले भ्यूज अभाव झेलेको हुनसक्ने अर्काथरीको आँकलन छ ।
कारण जे होस्, पुष्प जस्ता स्टार कलाकारको फिल्मको गीतले यूट्युब रिलिजको २ दिनमा ३० हजार भ्यूज कटाउन पनि नसक्नु दुर्भाग्य हो । फिल्मको अर्को गीत ‘कुनै दिन’ लाई भने यूट्युब रिलिजको तीन हप्तामा १३ लाख बढीले हेरेका छन् । यो गीतमाथि २ लाखभन्दा बढी टिकटक भिडियो बनेका छन् । दीपक ओली निर्देशित यो फिल्म आउँदो चैत २७ गतेबाट प्रदर्शनमा आउँदैछ ।
गीत हेर्नुहोस् :-

