Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

मैथिली फिल्ममा अभिनय गर्ने हमालको सौख

फिल्मीखबर, काठमाडौं, 2021/03/07
 
विगत तीन दशकदेखि नेपाली फिल्म क्षेत्रमा सक्रिय रहेका अभिनेता राजेश हमालले आफ्नो अभिनय करिअरमा तीन सयभन्दा बढी फिल्ममा काम गरेका छन् । सम्भवतः उनी जति संख्यात्मक रुपमा फिल्म गर्ने कलाकार नेपालमा अरु छैनन् । एक समय उनको टाउको पोस्टरमा राखे मात्रै पनि फिल्म हिट मानिन्थ्यो । फिल्ममा उनले हरेक प्रकारका भूमिका निर्वाह गरेका छन् ।
 
तर, हमालले नेपाली भाषाबाहेक अन्य भाषामा बनेका फिल्ममा अभिनय गरेका छैनन् । उनलाई मैथिली फिल्ममा भने काम गर्ने इच्छा रहेछ । शनिवार जनकपुरधाममा आयोजित ‘जनकपुर साहित्य महोत्सव’ को ‘सिनेमाको रङ्ग’ सत्रमा उनले भने- ‘म मैथिली फिल्ममा अभिनय गर्न इच्छुक छु । मैथिली फिल्ममा अभिनय गर्ने सौख छ । राम्रो स्क्रिप्टबाट प्रस्ताव आए मैथिली फिल्म गर्छु ।’
 
आफूले देशको सम्पूर्ण भागका समूदायको प्रतिनिधित्व हुने गरी फिल्ममा अभिनय गरेको पनि उनले बताएका छन् । अभिनेता हमाल अगाडि भन्छन्, ‘मैले देशको पूर्व-पश्चिम हिमालदेखि तराई-मधेशसम्मका सम्पूर्ण समुदायको प्रतिनिधित्व हुने अभिनय गरेको छु । नेपाली भाषाको फिल्ममा मात्रै अभिनय गरेको भए पनि हरेक समुदायको प्रतिनिधित्व हुने भूमिका निर्वाह गरेको छु ।’
 
अभिनयमा शिक्षाको खाँचो हुने बताउँदै उनले आफूले भने शिक्षा हासिल गर्न नपाएको बताए । अभिनेता हमाल आफूसँग अभिनयको अनुभव मात्र रहेको बताउँछन् । फिल्म क्रिएटिभ पेशा भएकाले अनुभवसँगै शिक्षा पनि चाहिने उनको तर्क छ । उनले प्रविधिको द्रूत गतिको विकासले भविष्यमा भौतिक रुपमा कलाकारको आवश्यकता नचाहिने दिन आउनसक्ने पनि बताएका छन् ।
Most Visited News (monthly)