.jpg)
अभिनेता अनमोल केसीको एउटा सिद्धान्त छ- ‘एउटा फिल्मको छायांकन पूरा नभएसम्म अर्को फिल्ममा हात नहाल्ने ।’ उनी एकसाथ दुईवटा फिल्मको सुटिङ गर्दैनन् । एउटा फिल्मको छायांकन पूरा भएपछि अर्को फिल्मका लागि तयार हुन उनी घरभित्रै वनबास बस्छन् । अभिनयमा कच्चा मानिए पनि उनी आफ्नो चरित्रलाई न्यायपूर्ण ढङ्गबाट निभाउन भने कुनै कसर छाड्दैनन् ।
कोरोना महामारी नहुँदो थियो त यतिबेलासम्म उनका दुई फिल्म ‘ए मेरो हजुर ४ र पारस’ प्रदर्शनमा आइसकेका हुने थिए । तर, लकडाउनभन्दा अगावैदेखि सुरु भएको ‘ए मेरो हजुर ४’ को छायांकन अझै पूरा भएको छैन । यही फागुन २७ गतेबाट फिल्मको बाँकी छायांकन सुरु हुँदैछ । यसका लागि अनमोलले गम्भीर विरामी भएको देखिन आफ्नो लामो कपाल छोटो बनाउँदैछन् ।
यो फिल्मपछि उनले होम प्रोडक्सनको फिल्म ‘पारस’ गर्नेछन्, जसका लागि उनको कपाल लामो हुनुपर्नेछ । उनको कपालका कारण केही दिनअघि दुई फिल्मको टिमबीच विवाद भएको थियो । ‘पारस’ टिमले अनमोललाई कपाल काट्न नदिने भनेपछि ‘ए मेरो हजुर ४’ टिमले छायांकन नै नगर्ने चेतावनी दिएको थियो । यस विषयमा दुई टिमबीच ठूलै चर्काचर्की भएको बताइन्छ ।
आफ्नो कपालका लागि दुई टिम भिडेको देख्दा अनमोलले कति अजिब मानिरहेका थिए भन्ने कुरा उनले शुक्रवार इन्स्टाग्राममा एक तस्विर पोस्ट गर्दै लेखेको क्याप्सनले बयान गर्छ । लामो कपाल भएको एक तस्विर शेयर गर्दै उनले लेखेका छन्, ‘ए मेरो अनाडी कपाल ।’ दुई फिल्मको टिमबीच भएको झगडा देखेर उनले आफ्नो कपाललाई ‘अनाडी’ भनेको हुनसक्ने बुझ्न सकिन्छ ।

