Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

निर्माण नहुँदै ‘कबड्डी ४’ को रिलिज घोषणा

फिल्मीखबर, काठमाण्डौ, 2021/03/06
 
फिल्म निर्माण नहुँदै प्रदर्शन मिति घोषणा गर्ने नेपाली निर्माताहरुको पुरानै रोग हो । दशैं, तिहार जस्ता पर्वहरुलाई लक्षित गरेर एक वर्ष अगाडि नै फिल्मको प्रदर्शन मिति घोषणा गरिन्छ । तर, जब घोषित मितिमा विदेशी फिल्म आउँछन्, तब नेपाली फिल्मको भागभाग हुन्छ । निर्माण अगावै प्रदर्शन मिति घोषणा गर्दा पोस्ट प्रोडक्सनमा फिल्म विग्रिएका उदाहरणहरु पनि धेरै छन् ।
 
यसबीच, रामबाबु गुरुङ निर्देशित तथा निर्मित सुपरहिट फिल्म ‘कबड्डी’ को चौथो पार्टले निर्माण अगावै प्रदर्शन मिति घोषणा गरेको छ । गएको हप्ता सामाजिक सञ्जालको माध्यमबाट ‘कबड्डी ४’ को निर्माण घोषणा गरेका निर्देशक गुरुङले शुक्रवार अर्को वर्ष (२०७८) को असोज १५ गतेलाई प्रदर्शन मिति घोषणा गरेका हुन् । घटस्थापनाको ६ दिन अगाडि फिल्म प्रदर्शनमा आउनेछ ।
 
‘कबड्डी’ का तीन सिरिजको केही महत्त्वपूर्ण सिनहरु जोडेर तयार पारिएको एक भिडियो सार्वजनिक गर्दै निर्माण टिमले ‘कबड्डी ४’ को प्रदर्शन मिति घोषणा गरेको हो । ‘द फाइनल म्याच’ उप-शिर्षक राखिएको फिल्मलाई ‘कबड्डी’ को अन्तिम भाग भनिएको छ । फिल्मका तीन सिरिजमा मैयाँ पात्रका लागि पुरुष पात्रहरुले गरेको दौडधुपको कथा अब टुंग्याइने निर्देशक गुरुङले बताए ।
 
‘कबड्डी’ को पहिलो पार्टमा दयाहाङ राई, निश्चल बस्नेत र रेश्मा गुरुङ मुख्य भूमिकामा थिए । दोस्रो पार्टमा निश्चलको ठाउँमा सौगात मल्ल भित्रिए । तेस्रो पार्टमा विल्सन विक्रम राई, कर्मा र उपासना सिंह ठकुरी जोडिएका थिए । अब फाइनल म्याचमा ‘कबड्डी’ को कथामा जोडिएका सबै प्रमुख पात्रहरु दोहोरिने निर्माण टिमले बताएको छ । बैशाखबाट फिल्म फ्लोरमा निस्कनेछ ।
Most Visited News (monthly)