
तपाईंलाई झनक शुक्ला याद छ ? उनले शाहरुख खान, प्रीति जिन्टा र सैफ अली खान अभिनीत फिल्म ‘कल हो ना हो’ मा सानी जिया कपूरको भूमिका निर्वाह गरेकी थिइन् । अब उनी उमेरले २५ वर्षकी भएकी छन् । हालै उनले इन्टरनेटमा पोस्ट गरेको एक भिडियो यतिबेला भाइरल भएको छ । उनले २५ वर्षको उमेरमा आफूले केही पनि कमाउन नसकेको गुनासो पोखेकी छन् ।
भिडियोमा झनकले अब अभिनयबाट ब्रेक लिने संकेत पनि गरेकी छन् । अभिनेत्री सुप्रिया शुक्लाकी छोरी समेत रहेकी उनले १५ वर्षको उमेरदेखि नै आफूले रिटायर महशुस गरिरहेको बताएकी छन् । उनले भनेकी छन्, ‘मेरो रिटायरमेन्टको सुरुवात भइसकेको छ । म चिल गर्छु । म साबुन बनाउँछु । म घुम्छु । म कहिले काहिँ लेख्छु । मलाई लाग्छ कि मेरो लागि यही सही छ ।’
यद्यपि, आफूलाई अभिनयप्रति वितृष्णा नभएको उनले बताएकी छन् । ‘म १५ या १६ वर्षको हुँदा मलाई अभिनय एकदमै मनपर्थ्यो तर अब मलाई चिल गर्न मनपर्छ । किनकि, बाल्यकालमा मैले धेरै काम गरेँ । बीचमा मलाई अभिनयबाट ब्रेक लिन माता-पिताले आग्रह गर्नुभयो । यसपछि म निरन्तर रुपमा स्कूल जान थालेँ । त्यसपछि अभिनयप्रतिको रुची हराएको छ,’ उनले भनेकी छन् ।
झनक शुक्ला अब एक पुरातत्वविद् हुन् । अब उनी आफ्नो जीवनसँग प्रेम गर्छिन् तर यो उनी होइनन् जुन उनले बाल्यकालमा सोचेकी थिइन् । उनले अगाडि भनेकी छन्, ‘जब म सानी थिएँ तब मेरो दिमागमा थियो कि २४ वर्षको भएपछि धेरै कमाउनेछु र घरजम गरेर बस्नेछु । मेरो उमेर २५ वर्षभको भइसकेको छ र मैले केही कमाउन सकेको छैन । तर, मेरो परिवार सपोर्टिभ छ ।’

