Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सिट संख्या आधा भएर नेपाली फिल्म नआएको हो : गोपाल कायस्थ

फिल्मीखबर, काठमाण्डौ, 2021/03/04
 
कोरोनाका कारण नेपालका हरेक क्षेत्र प्रभावित भए । यसबाट फिल्म क्षेत्र पनि अछुतो रहेन । लकडाउन हुनुभन्दा अगावैदेखि फिल्म निर्माण, प्रदर्शन र वितरण ठप्प भएको थियो । करीब ९ महिना फिल्म क्षेत्रमा कुनै गतिविधि भएनन् । जसले गर्दा यस क्षेत्रले अर्बौंको घाटा बेहोर्‍यो । सरकारले छायांकन र हल सञ्चालनको अनुमति दिएपछि भने फिल्म क्षेत्र पुनः जुरमुराउन थालेको छ ।
 
दशैंदेखि छायांकन निस्कने फिल्मको संख्या उत्साहजनक छ । तर, सिनेमा हलहरु तीन महिनादेखि चकमन्न छन् । फिल्म हेर्ने दर्शक नहुँदा कति हलहरु बन्द हुने अवस्थामा समेत पुगेका छन् । नयाँ फिल्म प्रदर्शन नभएका कारण सिनेमा हलसम्म दर्शक नआएको वितरक र हल सञ्चालकहरु बताउँछन् । तर, तत्काल नयाँ फिल्म प्रदर्शन गर्न निर्माताहरु तयार देखिएका छैनन् । 
 
सरकारले सिनेमा हललाई सञ्चालनको अनुमति दिँदै गर्दा स्वास्थ्य सुरक्षा अपनाएर ५० प्रतिशत अकुपेन्सीमा फिल्म प्रदर्शन गर्नुपर्ने मापदण्ड बनाएको थियो । यही मापदण्डमा रहेर अहिले हल सञ्चालकहरुले फिल्म प्रदर्शन गरिरहेका छन् । सरकारले बनाएको मापदण्डका कारण नयाँ नेपाली फिल्म प्रदर्शनमा आउन नसकेको वितरक तथा निर्माता गोपालकाजी कायस्थले बताएका छन् । 
 
बिहीवार एक कार्यक्रममा उनले भने- ‘अहिले नेपाली फिल्महरु प्रदर्शनमा आइरहेका छैनन् । डब्लूएचओको मापदण्ड अनुसार सरकारले सिट क्षमताको आधा संख्यामा दर्शक राख्न स्वीकृति दिएकाले नेपाली फिल्म नआएको हो । शतप्रतिशत अकुपेन्सीमा फिल्म प्रदर्शनको अनुमति दिन हामीले सरकारसँग पहल गरिरहेका छौं । यो खुल्ला भएपछि फिल्महरु प्रदर्शनमा आउनेछन् ।’
Most Visited News (monthly)