
फिल्म ‘रोम कोम र चेहरे’ का निर्देशक रूमी जाफरी लकडाउनभन्दा अगाडि अभिनेता सुशान्त सिंह राजपूत र उनकी प्रेमिका रिया चक्रवर्तीलाई लिएर लभस्टोरी फिल्म बनाउने तयारीमा थिए । उनले सुशान्तको निधनपछि यो कुराको खुलासा गरेका हुन् । अब उनी नयाँ हिरोलाई लिएर यो फिल्म बनाउने तयारीमा जुटेका छन् । फिल्ममा रिया यथावत हुने उनले बताएका छन् ।
यस विषयमा उनले मिडियासँग भनेका छन्, ‘म सुशान्त र रियाको लभस्टोरीमा फिल्म बनाउन चाहन्थेँ । केही चरण उनीहरुसँग फिल्मको बारेमा छलफल पनि भएको थियो । लकडाउनका कारण फिल्मको काम अगाडि बढ्न सकेन । त्यसको केही समयमा सुशान्तको निधनको खबर आयो । सायद भगवानको अरु नै प्लान थियो होला । अब त्यही फिल्म रियालाई लिएर बनाउँछु ।’
रूमी निर्देशित फिल्म ‘चेहरे’ को हालै पोस्टर सार्वजनिक भएको छ । अमिताभ बच्चन र इमरान हाशमी अभिनीत फिल्ममा रियाको पनि अभिनय छ । तर, पोस्टरमा उनलाई स्थान दिइएको छैन । ड्रग्स र सुशान्तको मृत्यु प्रकरणमा जोडिएका कारण उनलाई पोस्टरबाट हटाइएको कतिपयको आँकलन छ । तर, निर्माण टिमले उनलाई अर्को फिल्ममा पनि अवसर दिने भएको छ ।

