नेपालमा फिल्म पाइरेसीको घटनाले विकराल रुप लिइरहेको छ । हलमा रिलिजकै दिन इन्टरनेटमा फिल्महरु छ्यापछ्याप्ती भेटिने गरेको छ । जसले गर्दा करोडौंको लगानीमा फिल्म बनाउने कयौं निर्माताहरु घर न घाटको भएका छन् । फिल्मका निर्माताले दिएको जाहेरीको आधारमा पाइरेसी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरिरहे पनि यस प्रकारको घटनामा कमी आएको छैन ।
यसबीच, ‘सिनेमा घर एप’ का सञ्चालक द्वय सागर खरेल र खगेन्द्र लामिछानेले दिएको जाहेरीको आधारमा यही फागुन १३ गते महानगरीय प्रहरी अपराध महाशाखाले दर्जनौं नेपाली फिल्मको पाइरेसी गर्ने एक व्यक्तिलाई पक्राउ गरेको छ । मंगलबार पत्रकार सम्मेलनमार्फत् बेशीसहर-२ लमजुङका २५ वर्षिय सुजन परियार फिल्म पाइरेसीको कसुरमा पक्राउ परेको जानकारी गराइयो ।
अनुसन्धानका लागि अदालतबाट म्याद थप गरी अभियुक्तलाई टेकुस्थित प्रहरी परिसरमा राखिएको अपराध महाशाखाका प्रहरी निरीक्षक भुवन बहादुर खड्काले जानकारी दिए । अभियुक्त परियारलाई प्रतिलिपी अधिकार ऐन २०५९ को दफा २५ र २६ अनुरुप सरकारी वकिलको कार्यालबाट जिल्ला अदालत काठमाडौंमा पेश गरेर प्रहरीले अनुसन्धान गरिरहेको उनले बताए ।
.jpg)
इन्टरनेटको पहुँचका कारण अपराधिक क्रियाकलाप बढेको बताउँदै प्रहरी निरीक्षक खड्काले भने- ‘इन्टरनेटको पहुँचका कारण जसले पनि अपराध गर्न सक्दछ । कतिपयलाई यो अपराध हो भन्ने थाहा नभएको पनि हुनसक्छ । तर, पाइरेसी कानुन बमोजिम अपराध हो । प्रतिलिपी अधिकार धनीलाई उसको अनुमति विना नक्कल गरे अपराध ठहरिन्छ । यो कुरा सबैले जान्न जरुरी छ ।’
पाइरेसीको आरोपमा पक्राउ परेका परियारले ‘सिनेमा घर एप’ मा रिलिज भएका ‘डमरुको डन्डीबियो, सरौतो’ सँगै अन्य नेपाली फिल्महरु टेलिग्राम लगायतका एपहरुमा अनाधिकृत रुपमा राखेको ‘सिनेमा घर’ का खरेलले बताए । उनले भने, ‘एपमा स्क्रिन रेकर्ड गर्न मिल्ने व्यवस्था छैन । अभियुक्तले मोबाइलबाट मोबाइलले फिल्म खिचेको अनुसन्धानको क्रममा स्वीकार गरेका छन् ।’
चलचित्र विकास बोर्डमा भएको पत्रकार सम्मेलनमा बोर्ड अध्यक्ष दयाराम दाहालले २०५९ सालमा निर्मित पाइरेसी सम्बन्धि कानुन कमजोर भएका कारण पाइरेसी गर्नेहरुको मनोवल बढेको हुनसक्ने बताएका छन् । उनले बोर्डले राष्ट्रिय सभा र प्रतिनिधि सभामा पाइरेसी सम्बन्धि संशोधन प्रस्ताव हालेको र यो पारित भए पाइरेसी गर्नेलाई जधन्य अपराध अनुरुप कानुनी कारवाही हुने बताए ।
त्यस्तै, कलाकार खगेन्द्र लामिछानेले पाइरेसीको विषय विद्यालयको पाठ्यक्रममा पनि समावेश गरिनुपर्ने धारणा राखेका छन् । पाइरेसीकै कारण आफूले ‘पशुपतिप्रसाद’ बाट नाफा कमाउन नसकेको गुनासो सुनाउँदै उनले परिवारका अभिभावकले आफ्ना बच्चाहरुलाई पाइरेसी अपराध हो भनेर सिकाउनु पर्ने बताए । नेपालमा पाइरेसीको कानुन कमजोर रहेको उनको भनाई छ ।

