Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(10 votes, avg 4.20/5.00)
Text size:-
+
-

‘ए मेरो हजुर ४ र पारस’ बीचको विवाद के हो ?

फिल्मीखबर, काठमाडौं, 2021/02/28
कोरोनाका कारण देश लकडाउन भएपछि अभिनेता अनमोल केसी स्टारर फिल्म ‘ए मेरो हजुर ४’ को छायांकन ९ महिना रोकियो । सबै क्षेत्र खुलिसक्दा पनि सरकारले छायांकन अनुमति नदिएपछि निर्माण टिमले जबरजस्ती रुपमा यसपालीको दशैंबाट फिल्मको बाँकी छायांकन सुरु गरेको थियो । मंसिर अन्तिमसम्म छायांकन गरेर फिल्मको पुनः दुई महिनाका लागि छायांकन रोकियो ।
 
भीडभाडको सिन खिच्नुपर्ने र फिल्ममा गम्भीर विरामी देखिन अनमोलले १० केजी तौल घटाउनु पर्ने भएका कारण दुई महिनाका लागि छायांकन रोकेर निर्देशक झरना थापा, निर्माता सुनिल कुमार थापा र अभिनेत्री सुहाना थापा अमेरिका उडे । अब उनीहरु फिल्मको छायांकन गर्न काठमाडौं फर्किसकेका छन् । फागुन २५ गतेबाट बाँकी छायांकन सुरु गर्ने तयारीमा निर्माण टिम छ ।
 
यो फिल्मका कारण अनमोलको पाइपलाइनमा रहेको होम प्रोडक्सनको फिल्म ‘पारस’ को छायांकन सरेको सर्यै छ । निर्माता भुवन केसी यही फागुन अन्तिम साताबाट फिल्मको छायांकन सुरु गर्ने तयारीमा जुटेका थिए । तर, ‘ए मेरो हजुर ४’ को छायांकन नै पूरा नभएकाले निर्माता केसी अन्योल स्थितिमा छन् । अब बैशाखअघि फिल्मको छायांकन सुरु हुने सम्भावना न्यून देखिएको छ ।
 
 
गम्भीर विरामी भएर अनमोलले कपाल छोटो बनाएकोबाट ‘ए मेरो हजुर ४’ को बाँकी छायांकन सुरु हुनेछ । ‘पारस’ मा भने उनले कपाल लामो बनाउनु पर्नेछ । यही कारण अहिले दुई फिल्मको टिमबीच विवाद सुरु भएको छ । अनमोलले कपाल नछोट्याए फिल्मको छायांकन नै नगर्ने अडानमा ‘ए मेरो हजुर ४’ टिम छ भने अनमोललाई कपाल काट्न दिने पक्षमा ‘पारस’ टिम छैन ।
 
‘पारस’ निर्देशन गर्न लागेका सिमोस सुनवार ‘ए मेरो हजुर ४’ टिमसँँग यस विषयमा असमझदारी भएको स्वीकार गर्छन् । ‘मेरो गोरुको बाह्रै टक्का’ भनेर बस्न नहुने बताउँदै उनले भने- ‘केही दिन अगाडिको भेटमा उहाँहरुले अनमोलले कपाल काटेन भने सुटिङ नै गर्दैनौं भनेर भन्नुभयो । नमिल्ने गरी जाने हो भने त एग्रिमेन्टमा अनमोलले कपाल काट्नु पर्छ भन्ने उल्लेख नै छैन ।’ 
 
उनले अगाडि भने, ‘उहाँहरु (सुनिल कुमार थापा र झरना थापा) र अनमोलले भनेको समय अनुसार हामी फागुनबाट छायांकनमा निस्कने प्लानिङमा थियौं । तर, ‘ए मेरो हजुर ४’ को छायांकनमा ढिलाई भयो । उहाँहरु आफैं छायांकन रोकेर अमेरिका जानुभयो । अनमोलले पटक-पटक मैले ‘पारस’ का लागि कपाल लामो बनाउनुपर्ने छ भनेर उहाँहरुलाई खबर पनि गरिरहेको थियो ।’
 
‘ए मेरो हजुर ४’ टिमले छायांकन गर्ने माहोल हुँदाहुँदै पनि छायांकन नगरी बसेको उनको भनाई छ । उनी थप्छन्, ‘उहाँहरुको फिल्म विग्रियोस् भन्ने हाम्रो चाहना होइन । फिल्म विग्रनु भनेको अनमोललाई पनि राम्रो होइन । कथाले मागेको सिन खिच्नुपर्छ । तर, दुवै पक्ष मिलेर अगाडि बढ्दा राम्रो हुन्छ । कपाल काट्ने वा नकाट्ने भन्ने कुरा हामीले अनमोललाई नै छाडिदिएका छौं ।’ 
 
अनमोलले ‘ए मेरो हजुर ४’ मा आफ्नो क्यारेक्टरले मागेको सिनलाई कपाल छोट्याएर ‘पारस’ का लागि गेटअप परिवर्तन गर्न केही समय मागेको सिमोसले बताए । उनले भने- ‘अब अनमोलको गेटअप नै परिवर्तन गर्ने कि भनेर हामी सोचिरहेका छौं । अनमोलले ‘ए मेरो हजुर ४’ को छायांकन भ्याएपछि यस विषयमा छलफल गर्नेछौं । फिल्मको छायांकन चाहिँ केही पछाडि सर्न सक्छ ।’
 
‘ए मेरो हजुर ४’ का निर्माता सुनिल कुमार थापा भने ‘पारस’ टिमसँग कुनै प्रकारको विवाद नभएको बताउँछन् । ‘हो, फिल्ममा अनमोलले कपाल छोटो बनाउनुपर्ने सिक्वेन्स छ । यसका लागि हिरो तयार छ,’ उनले भने- ‘यस विषयमा सिमोसजीसँग कुरा भएको थियो । जुन अवस्थामा फिल्म रोकिएको थियो, त्यही अवस्थाको अनमोलको गेटअप चाहिन्छ भनेर हामीले भनेका थियौं ।’
Most Visited News (monthly)