Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 5.00/5.00)
Text size:-
+
-

सञ्चिता भन्छिन्, ‘कहिल्यै हिरोइन बन्छु भन्ने सोचेको थिइनँ’

फिल्मीखबर, काठमाण्डौ, 2021/02/27
 
कुनै समय अभिनेत्री सञ्चिता लुईटेललाई नेपाली फिल्ममा भ्याइनभ्याइ थियो । उनलाई फिल्मका लिनका लागि निर्माता/निर्देशकहरु महिनै कुर्ने गर्थे । १८ वर्षको उमेरमा फिल्म ‘अप्सरा’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी उनले आफ्नो दुई दशक लामो करिअरमा कयौं यादगार फिल्ममा काम गरेकी छन् । दुई सन्तानको आमा भएपछि भने उनी अभिनयमा खासै सक्रिय छैनन् ।
 
फिल्म ‘राधा’ पछि उनले पैसाको मुख हेरेर गरेका फिल्म गएको तीन वर्षको अवधिमा आधा दर्जन बढी प्रदर्शनमा आए । तर, उनलाई कुन फिल्म सिनेमा हलमा लाग्यो र उत्रियो अत्तोपत्तो भएन । अहिले उनलाई लिएर फिल्म बनाउन निर्माता/निर्देशकहरुमा खासै उत्साह पनि देखिएको छैन । किनकि, फिल्म छनोटमा गम्भीर नहुँदा उनको बचेखुचेको क्रेज सखाप भइसकेको छ ।
 
दुई सन्तानलाई हुर्काउन केही वर्ष अभिनयबाट टाढा रहेकी उनी अब कमब्याकको तयारीमा छिन् । उनले चाँडै आफूले नयाँ फिल्म साइन गर्न सक्ने बताएकी छन् । शुक्रवार काठमाडौं मलमा खुलेको ‘डाडु पन्यू’ रेस्टुरेन्टको उद्घाटन कार्यक्रममा उनले भनिन्, ‘मैले हिजै मात्र एउटा फिल्मको स्क्रिप्ट लिएको छु । एग्रिमेन्ट भइसकेको छैन । मैले गर्ने भएँ भने जानकारी गराउनेछु ।’
 
 
सञ्चिताले फिल्ममा आउनुभन्दा अगाडि आफूले कहिल्यै अभिनेत्री बन्छु भनेर नसोचेको पनि बताइन् । ‘म फिल्म धेरै हेर्थेँ । तर, पर्दामा जे देख्यो त्यही बन्छु होला भन्ने लाग्थ्यो । तर, म यही बन्छु भनेर चाहिँ कहिल्यै फोकस थिइनँ,’ उनले अगाडि भनिन्, ‘डक्टर भोला रिजालमार्फत् फिल्ममा आउने मौका पाएँ । पहिलो फिल्म नै निकै राम्रो भयो । त्यसपछि अवसरहरु मिल्दै गयो, काम गर्दै गएँ ।’
 
सञ्चिताले कोरोनाको समयमा आफूले धेरै कुरा सिक्ने अवसर पाएको बताएकी छन् । कोरोना कहरमा सबै परिवार विहानदेखि बेलुकासम्म सँगै बस्ने अवसर मिलेकोमा खुसी व्यक्त गर्दै उनले भनिन्, ‘यो समयमा आफूले जीवनमा चाहेका तर छुटाइएका कुराहरु गरियो । किताब धेरै अध्ययन गरेँ । गीत गाएर साथीहरुलाई पठाएँ । एक हिसाबले कोभिडको समय रमाइलो पनि रह्यो ।’
Most Visited News (monthly)