
निर्देशक सञ्जय लीला भन्सालीले वुधबार आफ्नो ५८औं जन्मदिनको अवसरमा फिल्म ‘गंगूबाई काठियावाडी’ को टिजर सार्वजनिक गरेका थिए । दर्शकहरुले फिल्मको टिजर निकै रुचाएका छन् । अब यो फिल्ममा अभिनेता अजय देवगनको प्रवेश भएको छ । उनले शुक्रवार फिल्म साइन गरेका हुन् । फिल्ममा उनी महत्त्वपूर्ण भूमिकामा देखिने भारतीय मिडियाले उल्लेख गरेका छन् ।
उनले २७ फेब्रअरीबाट मुम्बईमा तयार पारिएको भव्य सेटमा सुटिङ सुरु गर्नेछन् । निर्माण टिमले उनको भूमिकाबारे भने कुनै जानकारी दिएको छैन । निर्देशक भन्सालीको आग्रहमा उनले फिल्ममा काम गर्न लागेका हुन् । अजय देवगन र सञ्जय लीला भन्सालीबीच २२ वर्षपछि टिमअप भएको हो । यसअघि उनीहरुले फिल्म ‘हम दिल दे चुके सनम’ मा एकसाथ काम गरेका थिए ।
३० जुलाई २०२१ मा प्रदर्शन हुने ‘गंगूबाई काठियावाडी’ मा आलियाका अलावा विजय राज, हुमा कुरैशी, शांतनु माहेश्वरी र सीमा पहवा मुख्य भूमिकामा छन् । फिल्ममा अभिनेता इमरान हाशमीले पनि केमियो भूमिका निर्वाह गर्ने बताइएको छ । सन् १९६० को दशकमा मुम्बईको कमाठीपुरामा एउटा वेश्यालय चलाउने गंगूबाईको जीवनीमा आधारित भएर फिल्म निर्माण भएको हो ।

