Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

सिमोसको ‘कुकुर हराएको सूचना’ मा जोडिएला दीपक-दीपा समुह ?

फिल्मीखबर, काठमाडौं, 2021/02/26
नेपाली फिल्म क्षेत्रको शक्तिशाली समुह मानिने दीपकराज गिरी र दीपाश्री निरौलाको टिम फिल्म ‘छ माया छपक्कै’ पछि हिट सिरिज ‘छक्का पञ्जा’ को चौथो पार्ट निर्माणको तयारीमा जुटेको थियो । तर, स्क्रिप्टमा काम हुँदै गर्दा कोरोनाका कारण देश लकडाउन भएपछि यो समुहले फिल्म निर्माणमा हतार गरेको छैन । यद्यपि, दीपकराज फिल्मको स्क्रिप्टमा काम गरिरहेका छन् । 
 
‘छ माया छपक्कै’ बाट बाहिरी ब्यानरसँँग सहकार्य गर्न थालेको दीपक-दीपाको समुहले निर्देशक सिमोस सुनवारसँग पनि नयाँ फिल्ममा टिमअप गर्ने सम्भावना देखिएको छ । यसअघि ‘छन् गेडी सबै मेरी’ मा उनीहरुबीच सहकार्यको चर्चा चलेको थियोे । तर, अब यो फिल्मलाई थाती राख्दै फिल्म ‘कुकुर हराएको सूचना’ मा दीपक-दीपा समुहसँग सहकार्य गर्ने तयारीमा सिमोस छन् ।
 
दुई समुहबीच फिल्मको कथामा केही चरण छलफल भइसकेको छ । दीपक-दीपा समुहलाई फिल्मको कथा बेजोड लागेको छ । तर, पटकथा र संवाद फाइनल नभएसम्म फिल्म सम्झौता नगर्ने दीपकराजले बताएका छन् । अहिले लेखक प्रदीप भारद्वाज फिल्मको स्क्रिप्टलाई अन्तिम रुप दिन व्यस्त छन् । पटकथा र संवादमा भने दीपकराजको समुह पनि बस्ने जानकारी प्राप्त छ । 
 
 
निर्देशक सुनवारले भने- ‘मिलेर गर्ने भनेर मौखिक सहमति जस्तो भएको छ । हामीलाई आइडिया मन परेको छ । पटकथा र संवाद फाइनल भएपछि बाँकी कुराको टुंगो लाग्छ । अहिले हामी आइडियाकै चरणमा छौं ।’ दीपक-दीपा समुहसँँग सहमति भएको खण्डमा अनमोल केसीले अभिनय गर्ने फिल्म ‘पारस’ पछि ‘कुकुर हराएको सूचना’ निर्माण हुने उनले जानकारी दिए । 
 
अब ‘छन् गेडी सबै मेरी’ नबन्ने हो ? भन्ने प्रश्नमा सिमोसले भने- ‘नबन्ने भन्ने होइन । तत्काललाई पछाडि सारेका मात्र हौं । स्क्रिप्ट दीपकजीलाई पनि मन परेको हो । तर, यो उहाँहरुले गरिरहनुभएको रेगुलर (कमर्शियल) फिल्म भयो । उहाँहरुबाट दर्शकहरुको अपेक्षा धेरै भएकाले सन्देशमुलक फिल्म गर्ने कुरा भएपछि ‘कुकुर हराएको सूचना’ मा काम गरौं भन्ने सल्लाह भएको हो ।’
 
तर, ‘कुकुर हराएको सूचना’ चलचित्र विकास बोर्डमा सुदीप खड्का प्रोडक्सनको नाममा दर्ता छ । ‘लिलिबिली’ फेम्ड निर्माता सुदीप खड्काले २ वर्ष अगाडि नै विकास  बोर्डबाट यो फिल्मको निर्माण अनुमति लिएका थिए । उनले फिल्मका लागि मुख्य भूमिकामा अभिनेता तथा निर्देशक निश्चल बस्नेतलाई अफर गरेका थिए । तर, विभिन्न कारणले यो फिल्म निर्माण हुन सकेन । 
 
यो नाममा फिल्म निर्माण गर्ने अधिकार अझै पनि सुदीपको कम्पनीसँग छ । यस विषयमा निर्देशक सुनवार भन्छन्, ‘पहिला यो नाममा सुदीपजीले नै फिल्म बनाउन लाग्नुभएको थियो । पछि उहाँले नगर्ने कुरा भएपछि मैले गर्छु भनेको थिएँ । अझै पनि यो नाम उहाँसँगै छ । तर, यो विषयमा हामीबीच सहमति हुन्छ । उहाँले नाम दिन तयार हुनु भएन भने पनि समस्या छैन,’ उनले भने ।
Most Visited News (monthly)