
अभिनेत्री वर्षा सिवाकोटीलाई ‘लक्की नायिका’ भन्ने गरिन्छ । किनकि, उनी सोलो अभिनेत्री रहेका फिल्म सफल नभए पनि यसले उनको करिअरमा रत्तिभर असर पारेको छैन । कोरोना महामारीभन्दा अगाडि उनको जुन प्रकारको व्यस्तता फिल्ममा थियो, अहिले पनि उस्तै छ । लकडाउन अगाडि ‘परदेशी २’ को छायांकन गरेकी उनले लकडाउनमा फिल्म ‘श्री’ को छायांकन सकिन् ।
यसै हप्ता फिल्म ‘मनसँग मन’ को छायांकन सकाएकी उनले मंगलवार नयाँ फिल्म साइन गरेकी छन् । छायांकनमा जान ढिलाई भएपछि डेढ वर्ष अगाडि साइन गरेको फिल्म ‘सुदूर’ बाट हात झिकेर उनले ‘कालिपुरुष’ साइन गरेकी हुन् । राघव आचार्यको निर्देशनमा बन्न लागेको फिल्मलाई विना कार्कीले निर्माण गर्दैछिन् । फिल्मका लागि वर्षाले मोटो पारिश्रमिक बुझेको चर्चा छ ।
राघवले यही फिल्मबाट निर्देशनमा डेब्यू गर्न लागेका हुन् । उनले भारतमा फिल्म अध्ययनसँगै केही वेब सिरिजमा काम समेत गरिसकेका छन् । मानकृष्ण महर्जनको छायांकन रहने यो फिल्मबाट रमेश बाँनियाले नायकको रुपमा डेब्यू गर्दैछन् । सस्पेन्स थ्रिलर कथा निर्माण हुन लागेको फिल्मको कथावस्तु र आफ्नो भूमिका मन परेर ‘कालिपुरुष’ साइन गरेको वर्षाले बताएकी छन् ।
इभाना इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने फिल्मको छायांकन फागुन अन्तिम साताबाट सुरु हुनेछ । वर्षा केही दिनमा अर्को पनि फिल्म साइन गर्ने तयारीमा छिन् । उनी अभिनीत फिल्म ‘मनसँग मन’ आउँदो चैत २७ गते प्रदर्शनमा आउने तयारीमा छ भने मल्टीस्टारर फिल्म ‘लक्का जवान’ प्रदर्शनको पखाईमा छ । उनको पाइपलाइनमा मिलन चाम्सको फिल्म ‘गोर्खा वारियर’ पनि छ ।

