Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 3.20/5.00)
Text size:-
+
-

भोजपुरी फिल्ममा ‘गजनी’ भिलेनसँग प्रशान्त

फिल्मीखबर, काठमाडौं, 2021/02/25
धेरै नेपाली कलाकारका लागि बलिउड सपना हो । बलिउडमा काम पाउने सपना बुनेर वर्षैपिच्छे नेपाली कलाकारहरु मुम्बई हानिने गरेका छन् । तर, बलिउडमा काम गर्ने अवसर एकाधले मात्र पाएका छन् । अभिनेत्री मनीषा कोइरालाबाहेक नेपाली कलाकारहरु बलिउडमा लामो समय टिकेका उदाहरण ज्यादै कम छन् । केही अझै सपना पूरा गर्न संघर्ष गरिरहेका छन् । 
 
 
बलिउडमा प्रवेश गर्न कठिन बाटो हिँड्नु परे पनि भारतको भोजपुरी फिल्म उद्योगको ढोका नेपाली कलाकारका लागि सधैं खुल्ला हुने गरेको छ । यही उद्योगमा अभिनेता विराज भट्टले आफ्नो ठूलो साम्राज्य बनाए । एक समय निखिल उप्रेतीले पनि केही भोजपुरी फिल्ममा काम गरेका थिए । अहिले भोजपुरी मार्केटमा एक नेपाली द्वन्द्व निर्देशकले आफ्नो बलियो उपस्थिति जनाएका छन् । 
 
अनमोल केसी स्टारर फिल्म ‘कृ’ मा चन्द्र पन्तको एक्सन कोरियोग्राफी दर्शक र समीक्षकले निकै रुचाएका थिए । उनै, पन्त यतिबेला भोजपुरी फिल्मका व्यस्त निर्देशक बनेका छन् । दिनेशलाल यादव ‘निरहुवा’ स्टारर फिल्म ‘निरहुवा चलल लण्डन’ लाई उनले नै निर्देशन गरेका थिए । यो फिल्मको सफलतापछि भोजपुरीका प्रतिष्ठित ब्यानरहरु उनको पछाडि परेका छन् ।
 
 
अहिले चन्द्रले बलिउड, भोजपुरी र नेपाली कलाकारहरुलाई लिएर फिल्म ‘माही’ को निर्देशन गरिरहेका छन् । यसमा भोजपुरी स्टार आनन्द ओझा नायकको रुपमा छन् भने उनको अपोजिटमा नेपाली अभिनेत्री नीता ढुंगाना छिन् । १५ दिनदेखि भारतको आगरामा छायांकन भइरहेको फिल्ममा नेपाली कलाकारहरु प्रशान्त ताम्राकार र नरेन खड्का पनि मुख्य भूमिकामा देखिँदैछन् ।
 
त्यस्तै, अभिनेता आमिर खान अभिनीत फिल्म ‘गजनी’ का भिलेन प्रदीप रावतको पनि फिल्ममा अभिनय छ । बलिउडभन्दा साउथ फिल्ममा बढी काम गरेका उनको यो पहिलो भोजपुरी फिल्म हो । फिल्मका लागि निर्माण टिमले उनलाई मोटो रकम तिरेको बुझिएको छ । फिल्ममा प्रदीपसँग स्क्रिन शेयर गर्दै नेपाली कलाकारहरुलाई पनि देख्न पाइने निर्देशक पन्तले जानकारी दिए ।
 
 
उनले फिल्मको सेटबाट प्रदीप र प्रशान्तका केही तस्विरहरु फिल्मीखबरलाई उपलब्ध गराएका छन् । फिल्ममा दुवै भिलेनको भूमिकामा छन् । फिल्म अवधीभर दुवैलाई एकसाथ देख्न पाइने निर्देशक पन्तले बताए । सुटिङको क्रममा प्रदीप रावतले नेपाली कलाकारहरुको काम गर्ने शैलीको प्रशंसा गरेको उनको भनाई छ । फिल्मको २० प्रतिशत छायांकन पूरा भइसकेको छ ।
Most Visited News (monthly)