
अभिनेत्री आलिया भट्ट अभिनीत फिल्म ‘गंगूबाई काठियावाडी’ को टिजर बुधवार सार्वजनिक भएको छ । टिजरमा आलियाको दमदार अवतार देख्न सकिन्छ । १ मिनेट ३१ सेकेण्ड लामो टिजरमा उनी मात्रै छाएकी छन् । टिजरको सुरुवात भ्वाइस ओभरबाट हुन्छ । जसमा एक पुरुषले भनेका छन्, ‘भन्ने गरिन्छ कमाठीपुरममा कहिले औंसीको रात हुँदैन किनकि त्यहाँ गंगू बस्छे ।’
टिजरमा आलियाको इन्ट्री पनि जबरजस्त छ । उनले भनेकी छन्, ‘गंगू चन्द्रमा थिइ र चन्द्रमा नै रहन्छे ।’ गंगूबाई रोलका लागि जुन ताकत, रिस र निडरता चाहिएको थियो, त्यो सबै आलियामा देखिएको छ । टिजरमा उनको एकसेएक डाइलग छन् । उनले टिजरको अन्तिममा भनेकी छन्, ‘म गंगूबाई, प्रेसिडेन्ट कमाठीपुरम । कुमारी तपाईंहरुले छाड्नुभएन, श्रीमती कसैले बनाएन ।’
फिल्मको सेट पनि निकै सानदार र ठूलो देखिएको छ । ‘पद्मावत’ फेम्ड निर्देशक संजय लीला भंसाली निर्देशित फिल्म ‘गंगूबाई काठियावाडी’ को कहानी ‘द माफिया क्विन अफ मुम्बई’ पुस्तकमाथि आधारित छ । टिजर सार्वजनिकसँगै निर्माण टिमले फिल्मको प्रदर्शन मिति पनि घोषणा गरेको छ । ३० जुलाई २०२१ (साउन १५) का लागि फिल्मको प्रदर्शन मिति घोषणा गरिएको छ ।
सन् १९६० को दशकमा मुम्बईको कमाठीपुरामा एउटा वेश्यालय चलाउने गंगूबाईको जीवनीमा आधारित भएर फिल्म निर्माण भएको हो । फिल्मले कसरी एउटा सम्भ्रान्त परिवारकी शिक्षित युवती वेश्यावृत्तिमा लाग्छिन् र देहव्यापारका लागि बदनाम कमाठीपूरामा शासन गर्छिन् भन्ने देखाउनेछ । पहिलो पटक आलिया भट्टले निर्देशक सञ्जय लीला भन्सालीसँग काम गरेकी हुन् ।
टिजर :-

