
फिल्म ‘सदमा’ की स्मरण शक्ति गुमाएकी निर्दोष युवतीको भूमिका होस् वा फिल्म ‘मिस्टर इन्डिया’ मा निर्वाह गरेको चुलबुले भूमिका, अभिनेत्री श्रीदेवीले सिल्भर स्क्रिनमा आफ्ना हरेक भूमिकाबाट दर्शकलाई मन्त्रमुग्ध बनाएकी थिइन् । उनको नाम एक यस्तो अभिनेत्रीको रुपमा लिने गरिन्छ, जसले दमदार अभिनयले ८० र ९० को दशकमा दर्शकमा आफ्नो छाप छाडेकी थिइन् ।
श्रीदेवीको जन्म १३ अगस्ट १९६३ मा तमिलनाडुको एउटा सानो गाउँ मीनमपट्टीमा भएको थियो । निम्न वर्गिय परिवारमा जन्मिएकी उनले चार वर्षको उमेरमा नै एक तमिल फिल्ममा अभिनय गरेकी थिइन् । त्यसबेला कसैले सोचेको थिएन कि उनी कुनै दिन हिन्दी फिल्म इन्डस्ट्रीमा स्टारको रुपमा उदाउनेछिन् । १९७६ सम्म उनले तमिल फिल्ममा बाल कलाकारको रुपमा काम गरेकी थिइन् ।
लिड अभिनेत्रीको रुपमा भने उनले आफ्नो करिअरको सुरुवात तलिम फिल्म ‘मुन्दरू मुदिची’ बाट गरेकी थिइन् । श्रीदेवीले आफ्नो तीन दशक लामो करिअरमा तीन सयभन्दा बढी फिल्ममा काम गरिन् । यसमा ६३ हिन्दी, ६२ तेलुगु, र २१ मलयालम फिल्म छन् । श्रीदेवीले आफ्नो विवाहको १५ वर्षपछि गौरी शिंदेको निर्देशनमा बनेको फिल्म ‘इंग्लिश विंग्लिश’ बाट कमब्याक गरेकी थिइन् ।
उनले बलिउड फिल्ममा भने १९७९ मा ‘सोलहवां सावन’ बाट डेब्यू गरेकी थिइन् । ८० र ९० को दशकमा श्रीदेवीको बलिउडमा यस्तो क्रेज थियो कि उनलाई हिट फिल्मका लागि सबैभन्दा ठूलो फर्मुला मानिन्थ्यो । यही कारण त्यसबेला उनले एउटा फिल्ममा काम गर्नका लागि १ करोडसम्म लिने गरेकी थिइन् । त्यसअघि बलिउडमा कुनै अभिनेत्रीले एक करोड पारिश्रमिक पाउँदैन थिए ।

