.jpg)
अभिनेता राजेश हमालले तीन दशकभन्दा लामो समय नेपाली फिल्म क्षेत्रमा विताइसकेका छन् । यो अवधिमा तीन सय बढी फिल्ममा अभिनय गरेका उनी पछिल्लो पटक फिल्म ‘शकुन्तला’ मा देखिएका थिए । यो फिल्मको असफलताले नराम्रोसँग हच्किएका उनले गएको चार वर्ष कुनै फिल्म साइन गरेनन् । अब उनी फिल्म ‘सत्यम्’ बाट पर्दामा पुनरागमन गर्ने तयारीमा छन् ।
उमेरले ५५ वर्ष नाघे पनि आफू २१ वर्षको कलिलो युवक रहेको बताउने उनी शरीरलाई फिट राख्न दैनिक व्यायम गर्ने गर्दछन् । यही कारण बढ्यौली उमेरले छाप्दै गर्दा पनि उनी उस्तै जवान र उर्जाशिल देखिन्छन् । एक पटक पाउने जीवनलाई रवरझैँ तन्काउनु पर्ने उनको कथन छ । शरीरमा फ्याटको मात्र बढी नहोस् भनेर उनले खाना खान छाडेको समेत वर्षौं भइसकेको छ ।
करिअरको उत्कर्षमा रहँदा मोवाइल समेत नबोक्ने अभिनेता हमाल अचेल सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राममा निकै सक्रिय देखिन्छन् । घुमफिरका तस्विरदेखि रेस्टुरेन्टमा बसेर कफि पिएका तस्विरसम्म उनले फेसबुकमा दिनहुँ पोस्ट्याउने गरेका छन् । घरमै व्यायम गरेका र आफ्नो सुगठित शरीर देखाउन टपलेस भएका तस्विरहरु पनि उनले फेसबुकमा प्रशस्तै राखेका छन् ।
सोमवार साँझ फेसबुकमा उनले आफ्नो सिग्नेचर स्टाइलमा खिचेका तीन तस्विरहरु पोष्ट गर्दै ‘जवानीलाई मेरो सलाम’ भनेर लेखेका छन् । यो कुराले उनी आफ्नो जवानी हेरेर आफैं दंग परेको बुझ्न सकिन्छ । हुनत, यो उमेरमा पनि यति फिट देखिने हमाललाई धेरैले सलाम गर्ने गरेका छन् । आफ्नो शरीरलाई फिट राख्न उमेर कहिले बाधक बन्दैन भन्ने उदाहरणका पात्र हुन् राजेश हमाल ।

