Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

हलमा नयाँ फिल्मको खडेरी, ‘कागबेनी’ रि-रिलिज

फिल्मीखबर, काठमाडौं, 2021/02/19
 
कोरोना महामारीभन्दा अगाडि हरेक हप्ताको शुक्रवार नेपाली फिल्मबीच भाले जुधाई हुने गरेको थियो । एकै मितिमा दुईभन्दा बढी फिल्म भिड्नु सामान्यझैँ थियो । तर, कोरोनाका कारण ९ महिनासम्म बन्द भएका सिनेका हल पुष १० गतेबाट खुलेपछि नयाँ फिल्मको खडेरी लागेको छ । माघ १ गते ‘एउटा यस्तो प्रेम कहानी’ रिलिजपछि कुनै नयाँ नेपाली फिल्म प्रदर्शनमा आएका छैनन् ।
 
आशातित नयाँ नेपाली, हलिउड र बलिउड फिल्म प्रदर्शनमा नआउँदा दर्शकको भीड सिनेमा हलसम्म पुग्न सकेको छैन । जसले गर्दा कति हलहरु बन्द हुने अवस्थामा पुगेका छन् । निर्माताहरु नयाँ फिल्म प्रदर्शनका लागि तयार नहुँदा अहिले सिनेमा हलमा पुराना फिल्म रि-रिलिज भइरहेका छन् । भ्यालेनटाइन डेबाट १३ वर्ष अगाडि प्रदर्शन भएको फिल्म ‘सानो संसार’ रिलिज भयो । 
 
त्यस्तै, यही सोमवारबाट गत वर्षको सफल फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ लाई पुनः प्रदर्शन गरिएको छ भने शुक्रवार (आज) बाट १३ वर्ष पुरानो अभिनेता सौगात मल्ल स्टारर फिल्म ‘कागबेनी’ रि-रिलिज भएको छ । यो फिल्म क्यूएफएक्स चेनमा मात्र प्रदर्शनमा आएको छ । भुषण दाहाल निर्देशित फिल्मलाई क्यूएफएक्सका सञ्चालक नकिम उद्दिन, भाष्कर ढुंगानाले निर्माण गरेका हुन् । 
 
नयाँ फिल्म नहुँदा मल्टीप्लेक्सहरुमा हिन्दी डब फिल्म ‘मास्टर’, चिनियाँ सुपरहिरोइन फिल्म ‘मूलन’ र हलिउड फिल्म ‘मोन्स्टर हन्टर’ को प्रदर्शन यथावत छ । तर, यी कुनै फिल्म हेर्न हलमा दर्शक छैनन् । अब सबैको आश चैत २७ मा छ । यो मितिमा ‘लप्पन छप्पन २, मनसँग मन र कृष्ण लीला’ प्रदर्शनको तयारीमा छन् । यी तीनै फिल्मले हलमा दर्शक तान्ने अपेक्षा गरिएको छ ।
Most Visited News (monthly)