Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कथाको माग बिना सिक्वेल वा सिरिज गर्दिनँ : दिनेश राउत

फिल्मीखबर, काठमाडौं, 2021/02/18
दर्शकलाई प्रेम गर्न सिकाउने निर्देशकको रुपमा चिनिन्छन्, दिनेश राउत । उनले आफ्ना फिल्ममार्फत् प्रेमका विविध आयामहरुलाई सरलतापूर्वक बुझाउने प्रयत्न गरेका छन् । ‘नोभेम्बर रेन र क्लासिक’ मा तन्नेरी पुस्ताको प्रेमलाई मनछुने ढंगबाट देखाएका उनले ‘प्रसाद’ मा सामाजिक विषयवस्तुलाई प्रेममा घोलेर पस्किए । अब फिल्म ‘प्रकाश’ मा उनले नयाँ प्रयोग गर्दैछन् ।
 
उनी निर्देशित फिल्म ‘पर्व’ बाहेक अरु फिल्म समीक्षात्मक र व्यवसायिक रुपमा सफल ठहरिएका छन् । अचेल फिल्म क्षेत्रमा कुनै फिल्मले नाफा कमायो भने त्यसको ब्याज खानका लागि सिरिज वा सिक्वेल बनाउने होडबाजी चलेको छ । राउत निर्देशित दुई फिल्म ‘नोभेम्बर रेन र प्रसाद’ को पनि सिक्वेल निर्माण हुँदैछन् । तर, उनी फिल्मको सिरिज र सिक्वेल निर्माणको विपक्षमा छन् ।
 
 
सिरिज वा सिक्वेल बनाउनु व्यापारिक हिसाबमा मात्र सीमित हुने उनको तर्क छ ।  उनी भन्छन्, ‘कमर्शियल रुपमा सफल भएको फिल्मले त्यसपछिको कथा मागेको छ कि छैन भन्ने कुरा महत्त्वपूर्ण हो । पहिलाको फिल्म हिट भयो, अब २ वा ३ थपेपछि हिट भइहाल्छ भनेर व्यापारिक हिसाबले मात्र म सोच्दिनँ । किनभने, आर्ट व्यापार हो तर व्यापार मात्र पनि हो जस्तो मलाई लाग्दैन ।’
 
हिट फिल्मको पछाडि दुई थपेर कथा खोज्ने प्रवृतिप्रति पनि लक्षित गर्दै उनले अगाडि भने- ‘पहिला दुई थपेर कथा खोज्नुभन्दा कथा खोजेपछि कथा आफैंले नाम डिमान्ड गर्छ । कथाको माग बिना म कुनै पनि फिल्मको सिरिज वा सिक्वेल गर्दिनँ । फिल्मको उद्येश्य कमाउनु मात्र होइन, पछिसम्म अर्थ राख्ने पनि हुनुपर्छ । नाम मात्र राखेर व्यापारिक हिसाबमा सिरिज वा सिक्वेल त किन गर्नु र ?’
 
उनले ‘प्रसाद’ ले सिक्वेलको माग नगर्ने भन्दै ‘प्रसाद २’ को निर्देशन गर्न अस्वीकर गरेका थिए । त्यस्तै, डेढ वर्ष अगाडि उनले फिल्म ‘मेरो एउटा साथी छ २’ महंगो मुल्यमा साइन गरेका थिए । पछि सिरिजकै कारण उनले फिल्मबाट हात झिके । अब निर्माता सुवास गिरी ‘नोभेम्बर रेन’ को सिक्वेलको तयारीमा जुटेका छन् । निर्देशक राउतले यो फिल्म पनि नगर्ने स्पष्ट संकेत गरेका छन् ।
Most Visited News (monthly)