Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दीपक श्रेष्ठलाई निर्देशनमा फर्किन किन सात वर्ष लाग्यो ?

फिल्मीखबर, काठमाडौं, 2021/02/17
 
एक समय निर्देशक दीपक श्रेष्ठ हिट फिल्मका ग्यारेन्टी मानिन्थे । प्रायः स्टार कलाकारलाई लिएर फिल्म बनाएका उनले एकसेएक सुपरहिट फिल्म दिएका छन् । ‘पहिलो पहिलो माया, तकदिर, पापी मान्छे, पर्खि बसेँ, हिम्मत’ जस्ता दर्जनौं फिल्मको निर्देशन गरेका उनले केही फिल्ममा आफैंले अभिनय पनि गरेका छन् । पारिवारिक र एक्सन फिल्ममा उनी बढी दख्खल मानिन्छन् ।
 
पछिल्लो रिलिज फिल्म ‘रङ वे’ पछि भने उनी निर्देशनबाट टाढा रहे । फिल्म ‘लुट’ पछि बदलिएको दर्शकीय स्वाद र बजारका कारण उनले निर्देशनलाई निरन्तरता दिन नसकेको विश्लेषण पनि कतिपयको थियो । तर, अब उनी सात वर्षपछि फिल्म ‘घिन्ताङ’ बाट निर्देशनमा फर्किएका छन् । यही शुक्रवारबाट छायांकनमा जाने फिल्ममा गौरव पहारी र लक्ष्मी बर्देवाको अभिनय रहनेछ । 
 
यो फिल्म आफ्ना अघिल्ला फिल्मभन्दा फरक हुने दाबी निर्देशक श्रेष्ठको छ । तर, उनी आफूले ट्याक परिवर्तन नगरेको बताउँछन् । उनी भन्छन्, ‘समय अनुसार चल्नुपर्छ भनेर ‘घिन्ताङ’ मा केही फरक गर्न लागेको हुँ । फिल्ममा एक्सन, नाचगान होला तर कथावस्तु त तिनै हुन् । परिवेश तिनै हुन् । त्यसमा प्रस्तुतिकरणमा फरक हुन्छ । म भयंकरै परिवर्तन भएर आएको चाहिँ भन्दिनँ ।’ 
 
निर्देशनमा फर्किन सात वर्ष लाग्नुको कारण आफ्नै कमजोरी हुनसक्ने उनको कथन छ । उनी भने- ‘म समय अनुसार चल्न सकिनँ होला । मेरा कतिपय सोचहरु पुराना भएर रोकिएँ होला । मेरो आर्थिक अवस्था र दिन-दशा खराब भएर रोकिएँ होला । समग्रमा सात वर्ष निर्देशनमा फर्किन नसक्नुको दोष आफैंलाई दिन्छु । यद्यपि, सबैको साथ र मायाले दीपक श्रेष्ठ पुनः फर्किएको छ ।’ 
Most Visited News (monthly)