फिल्मको कथामा सुहाउँदो पात्रका लागि अडिसनबाट कलाकार छनोट गर्ने गरिन्छ । हलिउड/बलिउडतिर अभिनयमा आफूलाई प्रमाणित गरिसकेका कलाकारहरुले समेत फिल्मका लागि अडिसन दिने गरेका छन् । यसको एउटा उदाहरण हो, अभिनेता आमिर खान अभिनीत फिल्म ‘लाल सिंह चढ्ढा’ । यो फिल्मका लागि अभिनेत्री करीना कपूर खानले अडिसन नै दिएकी थिइन् ।
नेपालमा भने स्थापित कलाकारहरु अडिसनमा सहभागी हुँदैनन् । फिल्मका लागि अडिसन दिए अरुले आफूलाई हेर्ने नजरमा परिवर्तन आउने सोचाई उनीहरुमा छ । अडिसन भनेको फिल्ममा प्रवेश गर्न चाहने नयाँ अनुहारहरुका लागि मात्र हो भन्ने बुझाई पनि धेरैमा छ । कलाकार अनुप बराल कतिपय नाम चलेका नेपाली कलाकारमा अडिसन दिनु हुँदैन भन्ने भ्रम रहेको बताउँछन् ।

फिल्म ‘प्रकाश’ मा कास्टिङ डाइरेक्टरको भूमिका निर्वाह गरेका उनले अडिसनमा कलाकारको प्रतिभाको लेखाजोखा नहुने बताउँछन् । उनी भन्छन्, ‘तपाईंले चरित्रलाई कति राम्रोसँग आउटपुटमा ल्याउन सक्नुहुन्छ र डाइलग डेलिभरी गर्दा तपाईं पात्रसँग निकै नजिक हुन सक्नुहुन्छ, त्यसको मात्र कुरा हो । त्यसैले नाम चलेका अभिनेता हुन् वा अभिनेत्री, अडिसन दिन जाउन् ।’
‘प्रकाश’ का लागि उनले तीन महिना प्रदीप खड्कालाई अभिनय समेत सिकाएका थिए । प्रदीपले अभिनय सिक्न आउँदाको क्षण स्मरण गर्दै उनी भन्छन्, ‘तपाईं त सुपरस्टार भइसक्नुभयो, अभिनय सिक्नुपर्छ भन्ने कसरी लाग्यो भनेर मैले उहाँलाई सोधेको थिएँ । कलाकारको रुपमा आफ्नो क्षमतालाई निखार्न अभिनय सिक्न चाहेको हुँ भन्ने उहाँको जवाफ मलाई साह्रै चित्त बुझेको थियो ।’
‘प्रकाश’ मा कलाकार बरालकी श्रीमती दीया मास्केले पनि अभिनय गर्दैछिन् । फिल्ममा दीया हुने भएपछि उनलाई नेपोटिज्मको कुरा उठ्न सक्ने डर लागेको रहेछ । तर, दीयाको नाम आफूले कहिल्यै निर्माण टिमसँग नलिएको उनले स्पष्ट पारे । ‘फिल्मका लागि उनले सबैभन्दा धेरै अडिसन दिएकी छन् । अडिसनबाट पास भएपछि मात्र उनलाई फिल्ममा लिएको हो,’ उनले भने ।

