लभस्टोरी फिल्म निर्देशनमा आफूलाई अब्बल सावित गरेका दिनेश राउतले फिल्म ‘प्रसाद’ बाट भने आफ्नो ट्याक परिवर्तन गरे । यो फिल्ममा प्रेमसँगै देशमा वर्षौंदेखि जरा गाँडेर बसेको जातीय विभेद र निःसन्तान दाम्पतिको कथालाई प्रधानताका साथ उठान गरिएको थियो । अब निर्देशक राउत नयाँ फिल्म ‘प्रकाश’ मा पनि सामाजिक विषयवस्तुलाई पर्दामा उतार्ने प्रयास गर्दैछन् ।
उनले कथा भन्ने शैलीमा मात्र आफूलाई परिवर्तन गरेका छैनन्, कथा अनुसार पात्र छनोटमा पनि गम्भीर देखिन थालेका छन् । एक समय उनले निर्देशन गर्ने फिल्ममा अभिनेता आर्यन सिग्देल र अभिनेत्री नम्रता श्रेष्ठ छुट्दैन थिए । उनले आर्यन र नम्रतालाई च्यापेरै हिँडेको आरोप समेत लाग्ने गरेको थियो । तर, पछिल्लो समय उनले फरक-फरक कलाकारसँग फिल्ममा काम गरिरहेका छन् ।

‘पर्व’ मा कोशिश क्षेत्री, ‘प्रसाद’ मा विपिन कार्कीलाई निर्देशन गरेका उनी ‘प्रकाश’ मा अभिनेता प्रदीप खड्कासँग काम गर्दैछन् । यो फिल्मभन्दा अगावै एक बैंकको विज्ञापनमा उनीहरुले सँगै काम गरिसकेका छन् । ‘प्रकाश’ पछि अर्को फिल्ममा पनि उनीहरुबीच सहकार्यको तयारी भइरहेको छ । जसले गर्दा निर्देशक राउतले प्रदीपलाई च्याप्न थालेको चर्चा चल्न थालेको छ ।
यसबारेमा ‘प्रकाश’ को घोषणा सभामा उनले भने, ‘जोसँग काम गर्न सहज हुन्छ, त्योसँग रेगुलर काम गर्छु । त्यो मेरो बानी नै हो । नसुहाउने रोलमा आजसम्म मैले कसैलाई लिएर काम गरेको छैन ।’ अब प्रदीप खड्कासँगको सहकार्यले निरन्तरता पाउँछ ? भन्ने प्रश्नमा उनी भन्छन्, ‘हामी पहिलो पटक सँगै काम गर्दैछौं । यो फिल्ममा काम गरेको अनुभव कस्तो हुन्छ त्यसपछि थाहा हुन्छ ।’
प्रदीपले कलाकारितालाई गम्भीरतापूर्वक लिने गरेकोप्रति निर्देशक राउतले खुसी व्यक्त गरे । ‘उसले आफ्नो कलाकारितालाई कसरी लिँदो रहेछ भन्ने भेटेपछि थाहा पाएँ । उसले आफूलाई ग्रोअप गर्न चाहिरहेको रहेछ । ‘प्रकाश’ को पात्रलाई निभाउन पनि उसले निकै मेहेनत गरेको छ,’ उनले भने । यो फिल्मले जुम्लाको एक युवकको सरकारी शिक्षक बन्न गर्ने संघर्षको कथा भन्नेछ ।

