
दीपक श्रेष्ठले सात वर्षपछि निर्देशनमा कमब्याक गर्न लागेको फिल्म ‘घिन्ताङ’ मा अभिनेत्री लक्ष्मी बर्देवाको प्रवेश भएको छ । यसअघि निर्माण टिमले मुख्य अभिनेत्रीमा एलिजा गौतमलाई अनुबन्ध गरेको थियो । तर, पिता विरामी भएका कारण क्यानडा जानुपर्ने भएपछि उनले फिल्मबाट हात झिकेकी थिइन् । यसपछि निर्माण टिमले उनको ठाउँमा लक्ष्मीलाई अनुबन्ध गरेको हो ।
अब यो फिल्ममा लक्ष्मीको जोडी अभिनेता गौरव पहारीसँग बाँधिनेछ । उनीहरुले पहिलो पटक एकसाथ काम गर्न लागेका हुन् । ‘कास्ट एन्ड क्रियू’ फाइनल भएपछि मंगलवार सरस्वती पूजाको अवसर पारेर कमलादी गणेश मन्दिरमा फिल्मको मुहूर्त गरिएको छ । मुहूर्त समारोहमा गौरव र लक्ष्मी दुवै उपस्थित थिए । फिल्मले अन्तरजातीय प्रेम सम्बन्धको कथा भन्ने निर्देशक श्रेष्ठको भनाई छ ।
साहित्यकार मन्दिरा ‘मधुश्री’ ले लेखेको ‘मासुको मुल्य’ कथामा आधारित भएर निर्माण हुन लागेको फिल्ममा नीर शाह र मदनकृष्ण श्रेष्ठको विशेष भूमिका रहनेछ । श्रीमतीको निधनपछि विधुर भएका दलित समुदायका गौरव (धने) र श्रीमानको निधनपछि विधवा भएकी बाहुन समुदायकी लक्ष्मी (लक्ष्मी) बीचको प्रेम सम्बन्धको कथालाई फिल्मले वाचन गर्ने निर्देशक श्रेष्ठले जानकारी दिए ।
उनले भने- ‘म पहिला जुन प्रकारका फिल्म बनाउथेँ, त्यसप्रकारको फिल्म नबनाउँ भनेर नौलो कथावस्तु लिएर आउन लागेको छु । मैले आफ्नो करिअरमा जति पनि फिल्महरु बनाएँ २८/२९ वटा, तीभन्दा विल्कुलै फरक हुनेछ ‘घिन्ताङ’ । फिल्मले सबै जात-जाती, भाषा-भाषी एक हौं भन्ने सन्देश प्रवाह गर्नेछ । आजको समाजका लागि प्रतिकको रुपमा पनि मैले यो फिल्मलाई लिएको छु ।’
अभिनेत्री बर्देवाले स्क्रिप्ट पढ्दा नै आफू फिल्म गर्न उत्साहित भएको बताइन् । उनले भनिन्, ‘एउटा कलाकारले जहिल्यै पनि आफ्नो काम देखाउन चाहने स्क्रिप्ट खोज्छ । मैले त्यो देखेर नै स्वार्थी भएर यो फिल्म साइन गरेको हुँ ।’ गौरवले भने फिल्ममा आफ्नो भूमिका चुनौतीपूर्ण रहेको बताए । काठमाडौं र चित्लाङमा छायांकन हुने फिल्मको प्रस्तुतकर्तामा राज लामा रहेका छन् ।

