Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

माफ गर्नुस्, कलाकारहरु राष्ट्रका गहना होइनन् : विश्वप्रकाश शर्मा

फिल्मीखबर, काठमाडौं, 2021/02/15
राज्यले कलाकारहरुलाई राष्ट्रका गहना भन्ने गरेको छ । राजनीतिज्ञहरुबाट यो कुरा सुन्दा हरेक कलाकारको छाती गर्वले फुलिन्छ । तर, कला, साहित्य, संगीतलगायतका क्षेत्रमा योगदान पुर्‍याउने कलाकारहरुले राज्यबाट विशेष संरक्षण र सुविधा पाउन सकेका छैनन् । राज्यले कलाकारहरुलाई चाहिँदा प्रयोग गर्ने र नचाहिँदा फुकालेर फ्यालिदिने गहनाको रुपमा मात्र प्रयोग गर्दै आएको छ ।
 
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले राज्यले कलाकारलाई राष्ट्रका गहना भन्ने गरेकोप्रति असन्तुष्टि व्यक्त गरेका छन् । शनिवार नेफ्टा अवार्डको उत्कृष्ट पाँच मनोनयन सार्वजनिक कार्यक्रममा बोल्दै उनले भने- ‘कलाकारहरु भनिरहँदा गौरव लाग्छ । कतिपयले बोल्ने बेला भनिदिनुहुन्छ, कलाकारहरु राष्ट्रका गहना हुन् । माफ गर्नुस्, कलाकारहरु राष्ट्रका गहना होइनन् ।’
 
 
उनले थपे- ‘मदनकृष्ण दाई, नीर शाह दाई वा अग्रज कलाकारलाई म कति मुल्य तोकूँ ? गहनाको मुल्य हुन्छ तर कलाकार गहना होइनन् । कलाकार भनेको गौरव हो । गौरवको कुनै मुल्य हुँदैन । गौरव आफैंमा बहुमुल्य हुन्छ । कलाकारहरुको बहुमुल्य तागतलाई देशको पहिचान हो भनेर राज्यले चिन्नुपर्छ ।’ राष्ट्र निर्माणमा कलाकारको भूमिका महत्त्वपूर्ण रहेको पनि उनले चर्चा गरे ।
 
नेपाललाई विश्वसामु पहिचान दिँदै गर्दा अब राजनीतिलाई अघिल्लो पंंक्तिबाट पछिल्लो पंक्तिमा सारेर अघिल्लो पंक्तिमा कला, साहित्यहरु आउनुपर्नेमा उनले जोड दिएका छन् । कुनै पनि राजनीतिक दल वा समाजका व्यक्तिले फिल्मलाई मनोरञ्जनको रुपमा मात्र बुझे अधुरो र अन्याय हुने पनि उनले बताए । नेपाली फिल्मले देश निर्माणमा सहकार्य गरिरहेको नेता शर्माको कथन छ ।
 
फिल्मको पाँचवटा आयाम हुने बताउँदै उनले अगाडि भने- ‘पहिलो नम्बरमा फिल्म मनोरञ्जन नै हो । दोस्रो भनेको रोजगारी हो । अर्को भनेको राजश्वमा योगदान । फिल्मले समाजका कयौं मुद्धाहरुलाई उठाएर पनि देशमा ठूलो योगदान गरेको छ ।’ फिल्म क्षेत्रलाई उद्योगको रुपमा थप व्यवस्थित गरेर लैजान राजनीतिक दलहरुले साझा प्रतिबद्धता व्यक्त गर्नुपर्ने उनको धारणा छ ।
 
उनले आफू नेपाली फिल्मको दर्शक रहेको र आफ्नो रोजाईमा सधैं नेपाली फिल्म हुने गरेको बताए । ‘बाल्यकालमा ‘सन्तान, साइनो, सम्झना’ जस्ता फिल्महरु झापाका हलमा हेरेर हुर्किएको हुँ । अहिले पनि परिवारसँग झापा वा काठमाडौंका हलमा गएर नेपाली फिल्म हेर्ने गरेको छु । अन्य देशका फिल्मका धेरै चर्चा हुँदा पनि मेरो छनोटमा सधैं नेपाली फिल्म पर्छ,’ उनले भने । 
Most Visited News (monthly)