
अभिनेता पुष्प खड्का र अभिनेत्री साम्राज्ञी आरएल शाह अभिनीत फिल्म ‘तिम्रो मेरो साथ’ को इन्डक्ल्याप भएको छ । क्यामेरा ‘अन’ भएको ३३ दिनमा शनिवार पोखरामा फिल्मको सम्पूर्ण छायांकन सकिएको हो । काठमाडौंपछि पोखरामा फिल्मको केही दृश्य खिचिएको थियो । पोखरामा शनिवार एक कार्यक्रमका बीच निर्माण टिमले फिल्मको छायांकन सकिएको जानकारी गरायो ।
चलचित्र पत्रकार संघ कास्कीको आयोजनामा भएको कार्यक्रममा निर्माता तथा निर्देशक रमेश एमके पौडेलले फिल्मको छायांकन अवधिभर साथ र सहयोग गर्ने सबैमा आभार व्यक्त गरे । ‘रुद्रप्रिया र रज्जा रानी’ फिल्मको निर्माण गरिसकेका उनले ‘तिम्रो मेरो साथ’ बाट निर्देशनमा डेब्यू गरेका हुन् । फिल्म निर्माणबाट बटुलेको अनुभवलाई आफूले निर्देशनमा खन्याएको उनले बताए ।
त्यस्तै, पुष्प खड्काले फिल्म राम्रो बनेको दाबी गर्न सकिने अवस्था रहेको बताए । उनले भने- ‘फिल्म सबै वर्ग, तह र तप्काका दर्शकहरूको रूचिलाई ध्यानमा राखेर निर्माण गरिएको छ । मेरो भूमिका पनि केही फरक लाग्नसक्छ ।’ कलाकार सन्दिप क्षेत्रीले भने यो फिल्मले आफ्नो कलाकारिताको यात्रामा नयाँ फड्को मार्ने दाबी गरे । कार्यक्रममा साम्राज्ञी भने उपस्थित थिइनन् ।

कार्यक्रममा फिल्मका लेखक तथा कार्यकारी निर्माता सविर श्रेष्ठ, छायांकार शिव ढकाल र नृत्य निर्देशक रामजी लामिछानेले पनि आफ्नो धारणा राखेका थिए । यो फिल्म नेपालभन्दा पहिला अमेरिका, अष्ट्रेलिया र बेलायतलगायतका देशहरूमा प्रदर्शन हुने निर्देशक पौडेलले जानकारी दिए । नेपालमा भने आउँदो वर्षको दशैं र तिहारको बीचमा रिलिज गर्ने तयारीमा निर्माण टिम छ ।
बोधी एचडि र आर्यन फिल्मसको ब्यानरमा बनेको फिल्ममा सरोज खनाल, इमिली लामा, खगेश्वर पुन मगर (खबपू) लगायतको पनि अभिनय रहेको छ । योगेश काजीको संगीत रहेको फिल्मका निर्मातामा पासाङ लामा र सह-निर्मातामा निरू भण्डारी, सुमन पौडेल र सुधिर पराजुली छन् । निर्माण टिमले सुटिङ अवधिभर पुष्प, साम्राज्ञी र सन्दिपलाई बडिगार्डको व्यवस्था गरेको थियो ।

